इमिग्रेसन व्यवस्थामा गरिएको कडाईका कारण रेष्टुरेन्ट व्यवसाय संकटमा परेको भन्दै स्कटल्याण्डका करी व्यवसायीहरुले आवाज उठाएका छन्। स्थानीय सांसद, काउस्निसलरसहितका बेलायती अधिकारीलाई बोलाएर उनीहरुले सामुहिक रूपमै आफ्नो समस्या अवगत गराएका छन्।
व्यवसायीका समस्या सुनिसकेपछि बेलायती सांसद लेस्ली लेर्डले व्यवसायीका पक्षमा पहल गर्ने प्रतिबद्धता गरेकी छन्। समस्याको समाधानका लागि बेलायती संसदमै कुरो उठाउने आश्वासन उनले दिइन्।
स्कटल्याण्डस्थित नेपाली व्यवसायी काशिराम भण्डारीको संयोजनमा स्थानीय झण्डै १ सय करी व्यवसायी भेला भएका थिए। उनीहरुले इमिग्रेसन कडाईका कारण दक्ष सेफ ल्याउन नपाएका कारण अधिकांश रेष्टुरेन्ट बन्द हुने अवस्थामा रहेको जानकारी बेलायती अधिकारीलाई गराएका थिए।
कार्यक्रमको औचित्यबारे सेतोपाटीसँग कुरा गर्दै अभियन्ता भण्डारीले वर्क पर्मिटमार्फत श्रमशक्ति आपूर्ति गर्न नपाउँदा सिंगो रेस्टुरेन्ट व्यवसाय नै धरापमा परेको बताए। 'यो हाम्रो अभियानको शुरुवाती पहल मात्रै हो, हामी यसको 'फलो अप' पनि निरन्तर रुपमा गर्ने छौ', स्थानीय सांसदलगायतका सम्वद्द अधिकारीहरुलाई जम्मा पारेर आवाज उठाईएको बताउँदै भण्डारीले भने।
स्कटल्याण्डको काउडेनविथलगायतका स्थानहरुमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका काशिराम भण्डारीले विगतमा आफ्नो रेस्टुरेन्टहरुमा नेपालबाट दर्जनौ दक्ष कामदार (सेफ) हरू वर्क पर्मिटमार्फत ल्याएर व्यवसाय संचालन गर्दै आएका छन्।
भण्डारीकै रेस्टुरेन्टमा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा व्यवसायीहरुले समस्या समाधानका लागि सरकारले तत्काल वैकल्पिक व्यवस्था ल्याउनुपर्ने माग अघि सारेका थिए।
उनीहरुले प्रत्यक्ष रुपमा करी बनाएर देखाउँदै टेकवे खाना बेच्ने रेष्टुरेन्टलाई वर्क पर्मिट लाइसेन्स नदिने व्यवस्था विभेदपूर्ण रहेको जिकिर गरेका थिए।
कार्यक्रममा बिषेशतः नेपाली, ईन्डियन, पाकिस्तानीलगायत एसियन रेस्टुरेन्ट संचालकको उपस्थिति थियो।
बेलायतको पछिल्लो इमिग्रेसन नीतिले युरोपेली मुलुकभन्दा बाहिरका देशबाट सेफहरू ल्याउन वार्षिक तीस हजार तलबको थ्रेसहोल्ड लगाएको छ। जसकारण धेरै रेष्टुरेन्टहरुका लागि सेफहरु ल्याउन अहिले असम्भव जस्तै बनेको छ।
दक्ष सेफहरुको अभावमा बेलायतमा पछिल्लो समयकरी रेष्टुरेन्टहरु बन्द हुने क्रम तिब्र बनेको छ।