बेलायतको नेपाली समुदायभित्र रहेका प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले आउँदो अगस्टमा लण्डनमा एक प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतिभा नक्षत्र शीर्षकको प्रतियोगिताबाट नेपाली संगीत, कला, भाषा, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा विशेष प्रतिभा राख्नेमध्येबाट विजेता चयन गरिनेछ ।
प्रतियोगिताको आयोजक प्रतिभा नक्षत्रले लण्डनमा एक पत्रकार सम्मेलन आयोजना गर्दै दोस्रो प्रतिभा नक्षत्र आउँदो अगस्टमा आयोजना गर्ने जानकारी दियो ।
बेलायतका हरेक क्षेत्रमा रहेका नेपाली समुदायबाट प्रतियोगीलाई सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ। युवा र बाल समूहमा दुई वटा छुट्टा छुट्टै विजेता घोषणा गरिनेछ। गायन, नृत्य, कला, साहित्य लगायतका जुनसुकै विधाका प्रतिभाले पनि प्रतियोगितामा भाग लिन पाउनेछन्।
पत्रकार सम्मेलनमा आयोजक प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनले बेलायतका सबै नेपालीहरुको एकता सुदृढ गर्ने कार्य प्रतिभा नक्षत्रले गर्ने बताइन्।
संस्थाका संरक्षक मनिषकुमार श्रेष्ठले गत वर्षको पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा यस वर्ष विभिन्न सुधारहरू गर्दै थप व्यवस्थित कार्यक्रम गरिने बताए।
कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खसले प्रतियोगिताले नयाँ पुस्तालाई प्रतिभा देखाउने र नेपाली संस्कृति, भाषाबारे सिक्ने अवसर सिर्जना गर्ने बताए।
कार्यक्रमका संयोजक तथा महासचिव लछुमन गुरूङ, सहसचिव सन्तोष कार्की लगायतले कार्यक्रमबारे विभिन्न जानकारी गराए। त्यसअवसरमा साहित्यकार वासु शर्मा, रोयल ग्रिनविच नेपाली सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, खस समाज यूके अध्यक्ष ईन्द्र खस लगायतले कार्यक्रममा सहयोगको प्रतिबद्धता गरे ।
यही प्रतियोगिताको लागि आवश्यक कोष जम्मा गर्ने उद्धेश्यले प्रतिभा नक्षत्र समूहले आउँदो मार्च महिनाको ३ तारिख वुलवीचमा एक च्यारिटी डिनर गर्ने भएको छ। सो अवसरमा सहभागी भएर सहयोग गरिदिन बेलायतका सबै नेपालीहरुलाई आग्रह गरिएको छ ।