रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईँले आफ्नो नियात्रा सङ्ग्रह ‘भाया साक्रा’ सार्वजनिक गरेका छन्।
‘सिटी अफ लन्डन’ ले म्युजियमको रूपमा सञ्चालनमा ल्याएको १८ औं शताब्दीका प्रसीद्द कवि किट्सको स्थानमा पुगेर बजगाईले हालै प्रकाशित आफ्नो कृति बिना कार्यक्रम एकल रुपमै विमोचन गरेका हुन्।
कुनै कार्यक्रम आयोजना नगरी पुस्तक सार्वजनिक गरिएको बारेको जिज्ञासामा लेखकले त्यो आफ्नो पुरानै तरिका भएको बताए। 'यस अघिका चार कृतिहरु पनि यसैगरी सार्वजनिक गरेको हुँ', लेखक बजगाईंले सेतोपाटीसँग भने।
सामान्यतया पुस्तक विमोचनमा कार्यक्रमहरु आयोजना गरेर तामझाम गर्ने प्रचलन देखिने गरेको छ।
बजगाईंको ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ वटा यात्रानुभूतिहरु समावेश छन्। नियात्राङ्ग्रहमा ज्ञान विज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण छ।
आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय रहेर निरन्तर क्रियाशील छन्।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रा संग्रह हो। यसअघि उनका युरेशियाको स्पर्श (नियात्रा संग्रह), कमरेड भाउजू (कथा सङ्ग्रह ), स्रष्टा र डिजिटल वार्ता (अन्तर्वाता सङ्ग्रह), यन्त्रवत्, रोडम्याप र कवच (लघुकथा सङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित भइसकेका छन् ।
सुप्रमा साहित्य पुरस्कार, देवकोटा शताब्दी सम्मान, सत्यमोहन जोशी शताब्दी पदक लगायतका आधा दर्जन बढी साहित्यिक पुरस्कार प्राप्त गरिसकेका बजगाईंले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व समेत गरेका छन् ।