प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइमा मन्त्री बनेका सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित प्रवासी नेपालीप्रति निकै अनुदार मानिन्छन्।
उनले दिएका हरेक अन्तर्वार्तामा प्रवासी नेपाली मन मुटु नै चसक्क हुन्छ। खाडी मुलुक र दक्षिण एसियाली देशबाहेक अर्को देशमा गएर बस्ने, खासगरी ग्रीनकार्ड वा आईएलआर र नागरिकता लिने प्रवासीप्रति उनी निकै आक्रमक देखिन्छन्। लालबाबुको नजरमा उनीहरू भूतपूर्व नेपाली हुन्।
विदेश गएर नेपालीले आर्जन गरेको ज्ञान, सीप र धन स्वदेशको उन्नती र प्रगतिमा प्रयोग गर्न सकिने गरी वृहत्तर योजना बनाउने तहमा बस्ने उच्च पदस्थ व्यक्ति नै यस्तो संकुचित मनोविज्ञानबाट गुज्रिएको देखिन्छ।
नेपाली पन र नेपाली मन बोकेर संसारका जुनसुकै कुनामा बसेका नेपालीको समष्टि नै नेपाल हो र तिनीहरू नेपाली हुन्।
रहर वा वाध्यताले प्रवासी बनेकालाई देशप्रतिको जिम्मेवारी, भावनात्मक सम्बन्ध र नेपालमा रहेका परिवारजनप्रतिको जिम्मेवारी नै नरहने जस्तो कुरा गरेर क्षणिक वाहवाही बटुल्नुलाई उनले झर्रो राष्ट्रवाद मानेको देखिन्छ।
उनका कतिपय अभिव्यक्तिले नेपाल र प्रवासमा रहेका परिवारमा बिग्रहसमेत ल्याउन सम्भावना हुन्छ। खैर, उनको भावनामा खोट नहोला तर, अभिव्यक्तिहरू असहज लाग्छन्।
यसअघि पनि उनले आफू सामान्य प्रशासन मन्त्री हुँदा ‘विदेशी नागरिकता लिएका सबैलाई नारायणीमा बगाउनुपर्छ’ भन्ने सम्मको गैर जिम्मेवार अभिव्यक्ति दिएर चर्चामा आएका थिए।
दोस्रो पटक सोही मन्त्रालयको जिम्मा लिएर आउँदा अर्को देशको नागरिकता लिएका वा लिने प्रक्रियामा रहेका सबै नेपाली ‘भूतपूर्व नेपाली’ हुन पुगे।
संसारभर करिब ७६ देशका कुनामा छरिएका पचासौं लाख नेपालीलाई देशको मन्त्रीले सम्बोधन गर्दा सायद अरु कुनै नम्र शब्दहरू भेट्टाएनन् होला। यस्ता अभिब्यक्तीले उनको पदीय मर्दन हुन्छ कि हुँदैन?
नेपाल लालबाबुको मात्र नभएर उनले भूपू देख्ने हजारौंका पूर्खाको रगत पसिना सिँचिएको मुलुक हो।
हालै उनले एक अन्तर्वार्तामा परदेश र घरदेशको पारिवारिक सम्बन्धमा नै खलल हुने गरी आमा बुवालाई मान मर्दन गरेका छन्। ‘विदेशमा बसेर बच्चा जन्माउँछन् अनि नातिनातिनाको मुख हेर्न विदेश घुम्न आउनुस् भनी बोलाउँछन, तर यथार्थमा उनीहरूलाई घुमाउनभन्दा नोकरको रूपमा काम गराउँछन्,’ उनले भनेका छन्।
के हरेक छोराछोरीले यही उद्धेश्यले आफ्ना आमा बाबुलाई विदेश बोलाएका हुन्छन्?
सोही अन्तर्वार्तामा उनले महिलाहरुलाई नै अवहेलना हुनेगरी ‘अर्काको स्वास्नी अलि राम्री देखेर यही मेरो श्रीमती हो भन्ने’, भन्दै निकै आपत्तिजनक भनाइसमेत राखेका छन्। जसले नारी अस्मितामा कस्तो खालको असर गर्ला?
नीति र नैतिकतामा चल्ने विकसित देशको मन्त्री भएको भए यही भनाईकै कारण उनले राजीनामा दिनुपर्थ्यो।
अर्को कुरा, संविधानलेनै गैर आवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै कुरामा नेपाली नागरिक सरहको अधिकारको ग्यारेन्टी गरेको छ।
सोहि अनुसार कानुन बनिरहेको अवस्थामा मन्त्री पण्डित ‘भूपू’ नेपालीले पैतृक सम्पत्तिमा दाबी गर्न नपाउने कुरा गरिरहेका छन्।
यहाँ कुरा सम्पत्तिको मात्र छैन उनको भनाइ भातृत्व र बन्धुत्वमा नै आँच आउने खालको छ। एउटा मन्त्री सबैको अभिभावक हुनुपर्ने कुरा बिर्सिएर यस्ता असन्तुलित अभिव्यक्ति दिनु पदीय मर्यादाकोसमेत बिपरित छ।
विश्वको कुनै पनि कुनामा रहेको एउटा नेपाली, जसले बिहान उठ्ने बित्तिकै नेपालकै समाचार पढ्छ, विदेशीलाई नमस्कार र धन्यवाद भन्न सिकाउँछ। आफ्नो बालबच्चालाई नेपाली पढाउँछ अनि नेपाली रहन सहन र संस्कृति बारेमा सिकाउँछ। बुद्ध नेपालका हुन् अनि सगरमाथा नेपालमा छ भनेर पर्यटन प्रवर्धनन गर्छ।
नेपालमा प्राकृतिक बिपत्ति पर्दा ऊ पनि उत्तिकै मर्माहत हुन्छ। प्राविधिक रूपमा ऊ कुनै देशको नागरिक भए पनि नेपाल र नेपालमा रहेका आफन्तजन्प्रति उसको जिम्मेवारी उत्तिकै छ।
त्यही नागरिकप्रति सगौरव यस्ता गैर जिम्मेवार अभिव्यक्ति दिनु कतिको सान्दर्भिक हुन्छ?
लालबाबु स्वयम् र उनको पार्टीले यसबारे जिम्मेवार भएर सोच्न जरुरी छ।
लालबाबुले मात्र एक्लै यस्तो बोलेका हुन वा उनको पार्टीको पनि यही धारणा छ? प्रष्ट्र हुन जरूरी छ।
लालबाबु आफैं प्रवासबाट पठाएको पैसाले चुनाव खर्च चलाएको सगर्व सार्वजनिक रूपमा स्वीकार्छन्। अनि बिदेशमा बस्नेलाई यसरी अपमान गर्न मिल्छ?
उनको बोली र व्यवहार आफैंमा विरोधाभाषपूर्ण छ।
सरकारको एउटा बरिष्ठ मन्त्री प्रवासी नेपालीको बारेमा बेलगाम यस्ता आरोपहरू लगाइरहन्छन् र उनी सम्बद्ध पार्टी त्यसबारे मौन छ। यसबाट हामी प्रवासीले के बुझ्ने?
वर्तमान सरकारमा रहेका पार्टीका लाखौं लेबी तिर्ने कार्यकर्ता प्रवासका हरेक देशमा बिना स्वार्थ पार्टी कमिटि नै बनाएर क्रियाशिल छन्। त्यती मात्र होइन पार्टीका शक्तिशाली नेता र बहालवाला मन्त्रीका छोराछोरी नै संसारका बिकसित देशको नागरिक बनिसकेका छन् वा नागरिक बन्ने तयारीमा छन्।
उनीहरूलाई देश फर्काउने उनको केही योजना छैन। नियमित पार्टीलाई लेबी बुझाउने र पार्टीप्रति आस्थावान कार्यकर्ताले अब पार्टीसँगको सम्बन्ध किन निरन्तर गर्ने? यो एउटा सोचनीय विषय हुनसक्छ।
बिगत देशमा पार्टीको कुनै तहमा काम गरेका हजारौं नेता, कार्यकर्ता तथा समर्थकहरू अहिले पनि जो जुन देशमा छन त्यहीं संगठित भएका छन्। पार्टीलाई असाध्य माया गर्छन् र नियमित पार्टी सदस्यता बुझाउँछन्।
देश विकास र परिवर्तनको अपार शक्ति बोकेका नेपालीहरू विदेश पलायन छन्। उनीहरूलाई नेपाल फर्काउने उनीसँग योजना के छ? एउटा जिम्मेबार मन्त्रीले यीनी भूपू नेपाली हुन् भनेर मात्र उम्किन मिल्छ? उनीहरु किन पलायन भए बुझ्ने कोशिश गरियो?
त्यती मात्र होइन लालबाबु आफैं संलग्न पार्टी र मन्त्रीमण्डलका नेताका छोराछोरी ‘भूपू नेपाली’ भइरहेका छन्। उनीहरुलाई रोक्ने कुनै योजना छ?
एउटा नेपाली विदेशमा कुन दर्जाको नागरिक भएर बसेको छ? उसका कठिनाइ के के छन्? उसका दिनचर्या कति कष्टकर छ? ऊ बिदेशिनु रहर हो वा बाध्यता त्यो उनी कहिल्यै बुझ्न खोज्दैनन्। मात्र उनी बुझ्छन् उनीहरूसँग सुख सुविधा छ, मोजमस्ती गरेका छन्, सुख सयलका लागि बिदेसिएका हुन्।
नेपालका नेतालाई चुनौती मात्र दिईरहेका छन र नेपाललाई गाली मात्र गरिरहन्छन् वा उपदेश मात्र दिन्छन्।
सूचना प्रविधि र यातायातका सर्वसुलभताले संसार एउटा सानो गाउँ जस्तो भइसकेको छ। आवश्यक पर्दा बेलायतमा बस्ने एउटा छोरा १० घन्टामा नेपाल पुगेर गोर्खाको छेकम्पारमा बस्ने अर्को छोराभन्दा पहिला पुगेर आमाबुवाको स्याहारमा लागिसकेको हुन्छ।
देशको परिस्थिति र विविध कारणले तपाईँहरू बिदेसिनुभएको थियो। प्रवासमा बसेर केही सीप सिक्नुभएको छ र केही धन आर्जन गर्नुभएको छ। अब देशमा शान्ति सुब्यवस्था कायम भइसक्यो। आउनुहोस् देश विकासमा लागौं, भन्नुपर्थ्यो।
बिभिन्न कारणले बिदेशी नागरिकता लिनु भएको थियो वा लिने तयारीमा हुनुहुन्छ भने सहर्ष त्यसलाई त्याग्नुस् र आउनुस् नव नेपाल निर्माणमा लागौं, भन्नुहोस् हामी दिल खोलेर सहयोग गर्छौ।
जसरी चीन र भारतले संसारभर छरिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गर्यो। तीनै स्वदेश फर्किएका लाखौंले अहिले भारत र चीनको विकासमा सघाइरहेका छन्।
त्यसरी नै आउनुहोस अब तपाईको सीप र आर्जित धन देश विकासमा लगाउँ भन्नुको सट्टा यसरी गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनु उनीहरूको मन दुखाउनु मात्र होइन उनको मन्त्री पदलाई समेत अपमान गर्नु हो।
लेखक प्रवासी नेपाली मञ्च युकेका उपाध्यक्ष्य हुन्।