गैर आवासीय नेपाली संघको ११ औं यूरोप बैठकको पूर्वसन्ध्यामा प्रावासमा नेपाली भाषा सम्बन्धी साहित्य सन्ध्या तथा काब्य वाचन कार्यक्रम सम्पन्न भएको छ।
एनआरएन भाषा साहित्य विभागका संयोजक गोविन्द प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट आएका वरिष्ठ साहित्यकारद्वय डा. रविन्द्र समिर र अमर न्यौपाने तथा एनआरएन पूर्वअध्यक्ष तथा लेखक जीवा लामिछानेले लेखन अनुभूती सम्बधी एक अन्तरसंवाद कार्यक्रममा सहभागी भए।
उनीहरुले लेखकीय अनुभूती सम्बन्धि स्रोताहरुका प्रश्नहरुको जवाफ समेत दिएका थिए। अनौपचारिक तवरको कुराकानीमा भएको गहिरो साहित्य संवादको प्रस्तुति निकै रोचक बनेको थियो।
एनआरएन भाषा साहित्य तथा मिडिया विभागका सदस्य फडिन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा बोल्दै भाषा साहित्य विभागका संयोजक गोविन्द प्रसाद गौतमले प्रवासमा नेपाली भाषाको संरक्षण र सम्वर्धन एन आर एनको प्रमुख कार्यदिशा अन्तर्गत हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
नेपाली भाषामा प्रकाशित बिभिन्न साहित्यिक रचना तथा पुस्तकलाई यूरोपियन भाषामा उल्था गरेर नेपाली साहित्यलाई विश्व सामु चिनाउने तथा नयाँ पुस्तालाई नेपाली भाषाको ज्ञान हासिल गराउने उद्देश्यले प्रवासमा नेपाली पाठ्यक्रम लागू गरेर बिभिन्न देशका नेपाली समुदाय माझ उक्त पाठ्यक्रम पुर्याउनुपर्ने धारणा लगायतका कुराहरुमा समेत छलफल भएको थियो।
कार्यक्रमको अर्को चरणमा यूरोप क्षेत्रीय साहित्यकारले नेपाली साहित्यका बिभिन्न विधा कविता मुक्तक गजल इत्यादी वाचन गरेर कार्यक्रमलाई काब्यमय बनेका थिए।
एनआरएन अध्यक्ष भवन भट्ट, कोषाध्यक्ष तथा साहित्यकार हिक्मत थापा सचिव जानकी गुरूङ, सीता सापकोटा, हरि पौडेल, गोविन्द प्रसाद गौतम, योगेन्द्र मिलन छन्त्याललगायतका स्रष्टाले आफ्नो सृजना वाचन गरेका थिए।
कार्यक्रममा एनआरएन उच्च पदस्त पदाधिकारी तथा साहित्यकार एवम् भाषाविदको उपस्थिति थियो।
यसैबीच एनआरएनको तर्फबाट एक प्रेस मिटको आयोजना गर्दै यूरोप बैठकको उद्धेश्य र कार्यतालिकाको बारेमा जानकारी गराईएको छ।
एनआरएन मिडिया समितिका समाचार संयोजक पत्रकार चिरन शर्माले प्रेस मिटको संयोजक गरेका थिए। बैठकको पूर्व सन्ध्यामा नेपाली सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ।
आईतबारदेखि सुरू हुने एनआरएन यूरोप बैठकको पूर्वसन्ध्यामा लक्जेम्बर्गमा भेला भएका सहभागी हरुले बैठकस्थल नेपालमय बनाएका थिए।