गैरआवासीय नेपाली संघ अमेरिका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन्।
बेलायतबाट सञ्चालित नेपाल-ब्रिटेन डट कमको ११ औं वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो।
जोशीलाई गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय वैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा सो अवार्डबाट सम्मान गरे।
नेपालब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यबाट जोशीलाई चयन गरेको थियो ।
जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उनले भने ‘गौरीजीको पौरख मेरो आखाँले देखेको छु नेपालब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साच्चिकै राम्रो हो।’
जोशी चितवनमा रहेको पुर्खौली जग्गा बेचेर २१ वर्ष अघि पढाईको लागि अमेरिका पुगेका थिए।
उनले सन् २००० मा टेक्सासको डालास युनिभर्सीटीबाट इन्फर्मेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन्।
आईटी क्षेत्रमा लोकप्रिय कम्पनी एटी एन्ड टीमा जागिर सुरु गरेका जोशीले सन् २००७ मा व्यवसायीक गोरेटो तय गर्न सफल भएर भास्टिका नाम आईटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय सुरु गरेका थिए। अहिले भास्टिकाका करिब ५ हजार उत्पादनहरू बजारमा स्थापित छन्।
अमेरिकन, युरोपियन, बंगलादेशी, अफ्रिकन, श्रीलंकाली मात्र होइन अष्ट्रेलियाका नागरिकलाईसमेत उनले रोजगारी दिएका छन्।
उनका उत्पादनहरु अहिले एटी एन्ड टी, सिटी बैंक , अमेरिकन एयरलाइनदेखि वर्ल्ड बैंकसम्म पुगेका छन्।