स्वीडेनमा नेपाली साहित्य, कला र संस्कृतिको जगेर्नाका लागि भन्दै आइतबार ‘स्टकहोल्म नेपाली सांस्कृतिक महोत्सव २०१८को आयोजना गरियो।
नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली साहित्य, कला र संस्कृतिको जगेर्नाका लागि सृजनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ विगत चार वर्षदेखि नेपाली साँस्कृतिक संस्था नेपाल मण्डपले सांस्कृतिक कार्यक्रमको आयोजना गरिरहेको छ।
असत्य बाट सत्य, अन्धकार बाट प्रकाश र मृत्यु बाट अमरता तर्फ हाम्रो गति होस् भन्ने सन्देश प्रवाह गर्दै आरम्भ भएको महोत्सवमा उषा गौतम डंगोल, सुजता संग्रौला चिमरिया, जमुना कट्वुल कार्की, बिना कार्की, अन्जु खड्का, रुपा हेल्स्तेन, सन्जु पाईजा, दिया श्रेष्ठ, प्रेरणा गुरुङ्ग, मनिषा लिम्बु, परीक्षा भट्टराई, शिब कुमार चौंलागँई, धुर्ब क्षेत्री र रबी बोहोराले बिबिध लोक तथा आधुनिक गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
नेपालको तीन वटै भौगोलिक क्षेत्र हिमाल, तराई र पहाडलाई प्रतिनिधित्व गर्ने परम्परागत तथा सांस्कृतिक पहिरनमा प्रस्तुत भएका उनीहरूले नेपालकै झल्को दिएका थिए।
महोत्सवमा सन्नी प्रधान, बिजय प्रधान, आश्विन श्रेष्ठ, शसील श्रेष्ठ र दिप राज थापाले आफ्नो कर्णप्रिय स्वरमा नेपाली आधुनिक गितहरु गाएका थिए।
नेपालको साँस्कृतिक र भौगोलिक बिबिधताको सौन्दर्यलाई चित्रण गर्दै कार्यक्रममा दिप शर्माद्वारा तयार गरीएको नेपाल र स्वीडेनको भूगोललाई एक आपसमा जोड्न समर्थ सुन्दर र संक्षिप्त भिडियो चित्र पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।
महत्सवमा मन्चन भएको सम्बाद प्रधान प्रयोगात्मक नाटक “पति त्याग पत्र’ मा सोमा थापा अधिकारी र शिब कुमार चौंलागाँईले जिवन्त अभिनय गरेका थिए।
नवीनतम नाट्य शिल्पको उपयोग गर्दै सुबास अधिकारीद्वारा लिखित तथा निर्देशित उक्त नाटकले आदिमकाल देखी आजको आधुनिक युग सम्म अविच्छिन्न रुपमा पुरुषद्वारा स्त्रीमाथि गरीएको दमन, उत्पीडन र बिभेदको बिषयलाई सशक्त ढंगबाट उठान गरेको थियो।