नेपाल र आयरल्याण्डबीच दौत्य सम्वन्ध स्थापनाको बीसौं वर्षको अवसरमा एक भब्य कार्यक्रमको आयोजना भएको छ।
संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल-आयरल्याण्ड मैत्री दिवस १८ अगष्ट (भदौ २ गते) आयरल्याण्डको राजधानी डव्लिनमा एक साथ उद्घाटन गरे।
आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रूपमा उक्त विशेष समारोहलार्इ सम्वोधन गर्दै भौगोलिक रुपमा आयरल्याण्ड र नेपाल टाढा रहे पनि दुर्इ मुलुक कला, साहित्य, संगीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व-वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताए।
आयरल्याण्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेका स्मरण गर्दै राष्ट्रपति श्री हिगिन्सले विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा हाम्रो साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुर्इ मुलुकले विश्वमा शान्ति स्थापना गर्न आ-आफ्ना सैनिकहरु परिचालन गरिरहेको बताए।
सन् २०१५ मा नेपालको संविधानसभाले जारी गरेको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरु समाहित विश्वकै एक उत्कृष्ट संविधान भएको भन्दै राष्ट्रपति हिगिन्सले गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भर्इ आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको बताए।
नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण एक समृद्व राष्ट्र भएको भन्दै राष्ट्रपति हिगिन्सले विविधतावीचको एकतालार्इ शदीयौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य रहेको बताए।
कुटनीतिज्ञमा वौद्धिकता र सिर्जनात्मकता जस्ता क्षमता हुनु आदरयोग्य विशेषता भएको भन्दै राष्ट्रपति हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौशल दुवै गुणले अन्तनिर्हित एक सफल व्यक्तित्व भएको चर्चा गरे।
आयरल्याण्डमा नेपाली समुदाय सानो भए पनि सुन्दर र सहयोगी रहेको भन्दै राष्ट्रपति हिगिन्सले नेपालीहरुको इमान्दारिता, मिलनसारिता, र परिश्रम एवं भातृत्वको भावनाबाट आइरिस जनता प्रभावित भएको बताए।
राष्ट्रपतिले दुर्इ मुलुकवीचको सरकारी सम्वन्धलार्इ जनस्तरमा समेत विस्तार गर्न आवश्यक रहेको भन्दै साहित्य, संगीत,कला र संस्कृतिको आदानप्रदान यस दिशामा महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
आयरल्याण्ड-नेपाल फ्रेन्ड्रसिप गुप्रका संयोजक आइरिस सांसद मरिन ओ सुलिभानले आयरल्याण्ड र नेपालवीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको बताइन्।
‘दुर्इ मुलुकवीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले मैत्री सम्वन्धलार्इ अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्नेछ, निकट भविष्यमा आइरिस संसदका सभामुखको नेतृत्वमा आइरिस संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने र नेपालको संसदीय प्रतिनिधिमण्डलले पनि आयरल्याण्डको भ्रमण गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने।
नेपाल र आयरल्याण्डबीचको सम्वन्धलार्इ पारस्परिक सहयोग र नेपालीको आर्थिक विकासको निम्ति सार्थक बनाउने कार्यमा राजदूत सुवेदी प्रतिवद्ध र प्रयत्नशील रहेको उनले बताइन्।
सुलिभानले आयरल्याण्डका राष्ट्राध्यक्षको समुपस्थितिमा सम्पन्न नेपाल-आयरल्याण्ड मैत्री दिवस नेपाल-आयरल्याण्ड सम्वन्धको उच्चतम प्रतीक हो र यसले नेपाल आयरल्याण्ड सम्वन्धलार्इ नयाँ उचाइमा पुर्याए बताइन्।
आयरल्याण्डका लागि नेपाली राजदूत सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्वन्ध स्थापना भएको बीसौं वर्ष प्रवेश गरेको शुभ र सुखद उपलक्ष्यमा आयरल्याण्डका महामहिम राष्ट्रपतिज्यूको समुपस्थितिले हामीलार्इ हर्षित र गौरवान्वित तुल्याएको बताए। उनले यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्याण्ड र आइरिस जनताको स्नेह, सम्मान, र आत्मीयताको प्रतिविम्व प्रस्तुत भएको धारणा राखे।
‘हाम्रा दुर्इ मुलुकहरुवीचको द्विपक्षीय मित्रता, समझदारी, सहयोग, पारस्परिक विश्वास र एक अर्काको राष्ट्रिय स्वार्थ र आकांक्षाहरुप्रतिको सम्मानद्वारा अभिप्रेरित छ। यो सम्वन्ध पर्यटन, व्यापार र शिक्षाका क्षेत्रहरुमा विस्तार हुँदै जनस्तरसम्म पनि फैलिएको छ,’ उनले भने।
गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न स्थानीय, प्रादेशिक र संघीय संसदका निर्वाचनहरु एवं प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा जननिर्वाचित सरकारको गठनले मुलुकमा लामो समयदेखिको राजनैतिक संक्रमणको अन्त्य गरेको बताए।
सुवेदीले वर्तमान सरकार, राष्ट्रियता, लोकतन्त्र र मौलिक अधिकारहरुप्रतिको प्रतिवद्धता, सामाजिक न्याय, सुशासन, विधिको शासन, राजनैतिक स्थिरता र विकास र समृद्धि जस्ता ६ वटा मूलभूत लक्ष्यका साथ लिएर अघि वढेको उल्लेख गरे।
वि.स २०७२ को विनाशकारी भूकम्पको कठिन समयमा मैत्रीपूर्ण आइरिस सरकार र जनताबाट प्राप्त सहानूभूति, सदभावना र सहयोगका लागि नेपाली सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्दै राजदूत डा.सुवेदीले नेपाल सरकारको विकास प्रयासमा आइरिस सरकारको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरे।
आयरल्याण्डमा करिव तीन हजार नेपालीहरु रहेको सानो र सुन्दर समुदाय रहेको छ भन्ने उल्लेख गर्दै सुवेदीले नेपाली समुदाय आफ्नो भाषा, संस्कृति, कला, संगीत र परम्पराहरुको संरक्षण गर्दै आयरल्याण्डको समाजमा मिलेर बसेको देख्दा र यहाँको नेपाली समुदायप्रति आइरिस जनता र सरकारको स्नेह, सम्मान र भातृत्वको भावना देख्दा आफू गौरवान्वित भएको बताए।
समारोहमा आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सले राजदूत सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित 'सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता' नामक कवितासंग्रहको लोकार्पणसमेत गरेका थिए।
समारोहमा नेपाली तस्वीर प्रर्दशनी तथा नेपाली कला प्रदर्शनीको महामहिम राष्ट्रपति र श्रीमती सविना हिगिन्सले रुचिपूर्वक अवलोकन गरेका थिए।
उक्त विशेष समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपाली दीपेशमान शाक्य, गणेश प्रसार्इ, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यूलार्इ राष्ट्रपति र नेपाली राजदूतले सम्मान गरेका थिए।
समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए।
समारोहमा आइरिस संसदका माननीय सदस्यहरु, पूर्व मन्त्रीहरु, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालित आइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी तीन सय भन्दाबढी अतिथिहरु सहभागी थिए।