विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् ।
लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई तोकिएको जेल सजाय अस्वीकार गरेका हुन् ।
लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ५० हजार पाउण्ड जरिवानाका लागि भने सहमत भएका छन् ।
त्यस्तै उनी आबद्ध क्लब टोटनह्यामले यस गल्तीका लागि उनलाई २ लाख ५० हजार पाउण्डको जरिवाना गर्ने निर्णय पनि गरेको छ।
'गत जुलाई १५ तारिखका दिन उनी विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बनेका थिए, उनकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो' वकिल डेभिड सोनले भने ।
'सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उनी लण्डनको मध्य भागमा पक्राउ परे' ती वकिलले थपे, 'उनले आज अदालतमा क्षमा याचना गरेका छन् ।'
डेलि मेल पत्रिकाका अनुसार ३१ वर्षिय लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा उल्लेख छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ । उनको शरिरमा सो मात्रा ८० माइक्रोग्राम पाइएको थियो।
त्यस्तै उनले प्रतिघण्टा ३० माइलको गतिमा सवारी चलाउनुपर्नेमा १५ माइल प्रतिघण्टा सवारी हाँकेको प्रहरीको विवरणमा उल्लेख छ। उनी यसमा पनि दोषि पाइएका छन्।
उनले दुई पटक रक्सी पिएर सवारी हाँकेको स्वीकार गरेका थिए।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा मागेका छन् ।
'मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उनले भनेका छन् ।