बेलायत तथा युरोपमा बसोबास गर्ने नेपालीले अब आफ्नै फोन, ट्याब्लेट वा टेलिभिजन सेटमा नेपालका प्रमुख टेलिभिजन स्टेशनहरुको प्रत्यक्ष भिडिओ स्ट्रिमिङका साथै लोकप्रिय चलचित्रहरु हेर्न र गीतसंगीत सुन्न पाउनेछन्।
काठमाडौंस्थित म्युजिक नेपाल प्रा.लि.ले प्रवासी नेपालीलाई लक्षित गरी शुरु गरेको नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा अब ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत प्राप्त गर्नसकिने सो कम्पनीले जनाएको छ।
यी सेवाहरु प्राप्त गर्न www.nepalondemand.com गएर निःशुल्क परीक्षण दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एपहरु डाउनलोड गर्नुपर्नेछ। त्यसपछि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिनेछ।
आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सो एप सार्वजनिक गरे।
सभालाई सम्बोधन गर्दै राजदूत सुवेदीले इतिहास बनाउन सजीलो नहुने र म्युजिक नेपालले नेपालको कला तथा संगीत क्षेत्रको विकासमा एउटा इतिहास बनाएको बताए।
उनले तारा देवी र अरुणा लामा नरहे पनि मीरा राणाले नेपाली सांगीतिक जगतको गौरवलाई अगाडि बढाइरहेको बताए। उनले नयाँ प्रविधिमार्फत नेपालको ताजा सूचना र मनोरन्जन बेलायतवासी नेपालीलाई आफ्नै घरमा बसी उपलब्ध गराउने प्रवन्ध मिलाएकोमा म्युजिक नेपालको प्रशंसा पनि गरे।
सो अवसरमा बोल्दै वरिष्ठ गायिका मीरा राणाले नेपाली गीतसंगीतलाई संसारभरी चिनाउन र नेपाली कलाकारलाई सबल बनाउन म्युजिक नेपालले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि कम हुने बताइन्।
कार्यक्रममा भूतपूर्व गोर्खा सैनिकहरुले सुरु गरेको कम्पनी जीनर्जीका प्रमुख कार्यकारी सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले नयाँ सेवाको सफलताको कामना गर्दै आफ्नो कम्पनी म्युजिक नेपालसंग सहकार्य गर्न इच्छुक रहेको र यसबारेछिट्टै घोषणा गरिने पनि बताए।
प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा नेपाल टेलिभिजनका तीन वटा च्यानलहरु, कान्तिपुर टिभी, हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन्।
कान्तिपुर र एपिवान एचडी फर्म्याटमा हेर्न सकिनेछ। त्यसैगरी कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध हुने र हरेक साता एउटा चलचित्र थप गर्दै लगिने म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले बताए।
“विश्वभरि नेपाली समुदायसम्म पुग्ने गरी नेपालको पहिलो टिभी तथा भिडिओ स्ट्रीमिङ सेवा शुरु गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ। संसारभरि बसोबास गर्नुहुने नेपाली समुदायलाई मातृभूमिसंग जोडन यो सेवा सफल हुनेमा हामी विश्वस्त छौं,” उनले भने।
यसबाहेक सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ। त्यस्तै क्याचअप टिभी प्रयोगगरी ग्राहकहरुले गएको १२ घन्टामा छुटेको कुनैपनि कार्यक्रम हेर्न सक्ने पनि कंपनीले जनाएको छ।
बेलायतबाट सार्वजनिक गरिएको नेपाल अन डिमान्ड एप पछि संसारभरिबाट मासिक शुल्क तिरेर डाउनलोड गर्न सकिने छ।
यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने म्युजिक नेपालले जनाएको छ। नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ।
म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने घोषणा गरेको छ। “प्रवासमा बसोबास गरिरहेका नेपालीहरुले नेपाली टेलिभिजन, संगीत तथा फिल्महरुबाट मनोरन्जन लिइरहँदा तपाईंहरुले तिरेको शुल्कको केही अंश नेपालमा स्वास्थ्य, शिक्षा तथा मानवीय सहायताको काममा सघाउन हामी प्रतिबद्ध छौं,” हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने।
हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार सूर्य गुरुङले सबैलाई धन्यवाद दिएका थिए।