बेलायत संसारको अति बिकसित मुलुकमा पर्छ, तर त्यो देशमा बर्सेनि ६०० जना घरबारबिहीनको चिसो, ड्रग्स, आत्महत्याको कारणले मृत्यु हुन्छ भन्दा अचम्म लाग्न सक्छ। बिबिसीका अनुसार ५ बर्ष भित्र इंगल्याण्ड र वेल्समा मात्रै २६२७ बेलायती घरबारबिहिनको अकालमै मृत्यु भएको छ।
समाचार प्रसारण भएकै दिन बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहिनको लागि खाना र न्यानो कपडा ब्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेका छन्।
आयोजक बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आज आफ्नो ब्यबसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकमबाट क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर भनी संस्थामार्फत ती असहाय घरबारबिहिनलाई अत्यावश्यक बस्तुहरुको ब्यबस्था गर्ने जानकारी दिए।
कार्यक्रममा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य भएको बताए। ‘म नेपाली हृदयको सम्मान गर्छु। रकम संकलनको लागि लिलाम बढाबढ गर्न आफ्ना नातिनीले आफूलाई दिएको उपहार प्रदान गरेको थियो, जसको लिमाम बढाबढबाट राम्रो रकम संकलन भएको थियो,’ उनले भने।
त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरू बेलायती समाजको अभिन्न अंग रहेको कुरा आजको च्यारिटीले पनि प्रमाणित गरेको दाबी गरे।
नेपाली डिनर सहित नेपाली परम्परागत सारंगीबाट शुरु भएको सो कार्यक्रममा सयपत्री सांस्कृतिक समाजका अध्यक्ष डम्बर सिंह, प्रभा बि.क., बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायतका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका थिए।
बेलायतमा ब्यबसाय गरिरहेका शिवजी श्रेष्ठ नेपालको लागि बिभिन्न च्यारिटीमा संलग्न भइरहन्छन् र भन्छन् - आफ्नो देशको लागि गर्ने कुरा त छँदैछ, तर आफू बसेको देशको लागि पनि केही गर्नु आफ्नो कर्तब्य हो।
संसारमा जहाँका मानिस चिसोले मरे पनि अहिलेको आधुनिक बिश्वलाई चिमोट्ने कुरा भएको उनको तर्क थियो।