बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ। स्थानीय समयअनुसार मंगलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा पक्षमा २०२ मत परेको थियो।
ब्रेक्जिटसम्बन्धी सम्झौतामा प्रधानमन्त्री मेले युरोपेली युनियनसँग गत वर्षको अन्त्यतिर ब्रसेल्स पुगी सहमतिमा हस्ताक्षर गरेकी थिइन्।
इयूसँगको सम्झौता आगामी मार्च २९ बाट लागू हुने कार्यक्रम छ, तर उक्त सम्झौता लागू हुन संसदले अनुमोदन गर्नुपर्नेछ।
बेलायती संसदीय इतिहासमै सरकारको प्रस्ताव यति ठूलो मतान्तरले अस्वीकृत भएको यो पहिलो घटना हो। ब्रेक्जिट सम्झौता अस्वीकृत भएसँगै विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बाइनले प्रधानमन्त्री मेविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
बेलायती संसदको नतिजापछि तत्कालै प्रतिक्रिया दिँदै इयूले ब्रेक्जिट सम्झौता कार्यान्वयनमा नआएको अवस्थामा बेलायतको औपचारिक धारणा आवश्यक पर्ने जनाएको छ।
युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जन्करले बेलायतको प्रतिक्रिया जतिसक्दो चाँडो उपलब्ध गराउन अनुरोध गरेका छन्। उनले समय घर्किसकेकाले तत्कालै निर्णय गर्न बेलायत समक्ष आग्रह गरे।
संसदमा नराम्रो हार व्यहोरेकी प्रधानमन्त्री मेले ब्रेक्जिटका सम्बन्धमा सांसदहरूले राखेका चासोलाई सम्बोधन गरी कार्यरूपमा लैजान सकिने किसिमको बनाउन पहल गर्ने बताइन्।
प्रधानमन्त्री मेले भनिन्, ‘म संसदभित्रका सबै दल एवं सांसदहरूलाई जनमतसङ्ग्रहमा व्यक्त जनताको विचारलाई सुन्न आग्रह गर्दछु।’
तर, संसदमा विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बाइनले दर्ता गरेको सरकारविरूद्धको अविश्वास प्रस्ताव पारित नहुने प्रधानमन्त्री मेले विश्वास व्यक्त गरेकी छन्। अविश्वास प्रस्तावमाथि बुधबारदेखि हाउस अफ कमन्समा छलफल हुँदैछ।
संसदमा ब्रेक्जिटको प्रस्तावको विपक्षमा मतदान गरेका प्रधानमन्त्रीकै दल सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदहरू र उत्तरी आयरल्यान्डको डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) ले लेबर पार्टीको अविश्वास प्रस्तावमा रुचि देखाएका छैनन्। बेलायती प्रमुख अखबारहरूले प्रधानमन्त्री मे अब अत्यन्त कमजोर बनेको टिप्पणी गरेका छन् ।
युरोपेली युनियन पक्षधर केही सांसदले विवाद निरुपणका लागि दोस्रो जनमतसङ्ग्रहका लागि आग्रह गरिरहेका छन्। उनीहरूको भनाइमा ब्रेक्जिट सम्झौतालाई पूर्ण रूपमा रद्द गर्नु आवश्यक छ।
युरोपेली युनियनका परिषद अध्यक्ष डोनाल्ड टस्कले ट्वीट गर्दै भनेका छन्, ‘यदि सम्झौता सम्भव छैन, र कुनै सम्झौता नहोस् भन्ने हो भने कुनै सकारात्मक समाधानका लागि कोचाहिँ अघि सर्ला र ?’
बेलायती उद्योगी व्यवसायीले भने राजनीतिक नेताहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन्।
‘वित्तीय स्थायित्वलाई राजनीतिक दाउपेच र स्वार्थसिद्धिको धरापमा पारिनु हुन्न,’ सिटी अफ लन्डन कर्पोरेसनका नीति अध्यक्ष क्याथरिन म्याकगिनिसले चेतावनी दिए। (रासस/एएफपी)