बेलायती प्रधानमन्त्री थेरेसा मेविरूद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ।
युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।
हाउस अफ कमन्समा लामो छलफल पश्चात् बुधबार राति भएको मतदानमा प्रधानमन्त्रीको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको थियो। प्रधानमन्त्री मेविरूद्ध ल्याइएको यो पहिलो अविश्वासको प्रस्ताव थियो।
गत मङ्गलबार ब्रेक्जिट अनुमोदनसम्बन्धी मतदानमा सरकारको पक्षमा २०२ र विपक्षमा ४३२ मत परेको थियो। इयूसँग भएको ब्रेक्जिट सम्झौतालाई बेलायती संसदले अनुमोदन गर्नुपर्ने प्रावधान छ।
संसदमा अविश्वास प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री थेरेसा मेले विभिन्न दल र पक्षसँग छलफल सुरू गरेकी छन्।
उनले भनिन्, ‘वार्ताहरू निकै रचनात्मक ढंगबाट अगाडि बढेका छन् र हामीले कुनै पनि स्थितिमा समाधान खोज्नै पर्दछ।’
तर लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छैन। कोर्बिनले ब्रेक्जिट सम्झौता फिर्ता नलिएसम्म प्रधानमन्त्रीसँग वार्ता गर्नुको कुनै अर्थ नभएको बताउँछन्।
युरोपेली कुटनीतिज्ञहरूले ब्रेक्जिट सम्झौता लागू हुने दिन अति नजिक आइसकेकाले पुनः छलफल गरी संसदबाट अनुमोदन गर्न सम्भव नभएको बताएका छन्। उनीहरूले ब्रेक्जिट सम्झौता स्थगन हुन सक्ने अनुमान गरेका छन्।
प्रधानमन्त्री मेले बुधबार संसदमा मुख्यगरी दुइटा विषयमा सांसदहरूको ध्यानाकर्षण गराएका थिइन् : इयूबाट हुने आप्रवासन र स्वतन्त्र व्यापार नीति। दुबै बुँदाहरू लेबर पार्टीको सिद्धान्तविपरीत छन्।
प्रधानमन्त्री थेरेसाले ब्रेक्जिट कार्यान्वयनमा ढिलाइ गर्न चाहेमा इयूका सबै २७ मुलुकले हस्ताक्षर गर्नुपर्ने हुन्छ। तर, मेले ब्रेक्जिट कार्यान्वयनमा ढिलाइ नगर्ने दृढता व्यक्त गरेकी छन्।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले ब्रेक्जिटमा रहेका केही बुँदामा संशोधन गर्न सकिए पनि त्यो अहिल्यै सम्भव नरहेको बताए।
जर्मन चान्सलर एन्गेला मर्केलले वार्ताका लागि अझै पनि समय रहेको बताउँदै लन्डनले स्पष्ट र एकीकृत धारणा ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। उनले बेलायती प्रधानमन्त्रीको नयाँ प्रस्तावको प्रतीक्षा गरिरहेको बताइन्। (रासस/एएफपी)