आइतबार लण्डनमा सम्पन्न लण्डन कविता कन्सर्ट-२ बाट सिन्धुपाल्चोकको एक विद्यालयको लागि १७ लाख रूपैयाँ संकलन भएको छ।
क्षेत्री समाज यूकेको आयोजना तथा चर्चित युवाकवि नवराज पराजुलीको प्रमुख प्रस्तुति रहेको कार्यक्रमबाट उक्त रकम संकलन भएको कन्सर्टका संयोजक रामशरण सिम्खडाले जानकारी दिए ।
यो रकम सिन्धुपाल्चोक टेकनापुरस्थित कालिका माविमा २ कोठे भवनसहितको विद्युतीय पुस्तकालय बनाउन सहयोग गरिनेछ ।
लण्डनको ह्यारो फुटबल क्लबमा पराजुलीलाई सुन्न बेलायतका विभिन्न भेगबाट करिब २ सय नेपालीहरु भेला भएका थिए ।
आफ्नो डेढ घण्टा करिबको प्रस्तुतिका क्रममा उनले डेढ दर्जन कविताहरु सुनाएका थिए ।
उनको चर्चित कविता हेप्पी बर्थडेदेखि लण्डन कन्सर्टमै पहिलोपटक वाचित प्रहरी कवितासम्मलाई दर्शकले खुबै मन पराए ।
एकल जीवन काटिरहेका वृद्धको कथा बोकेको रुख कवितादेखि बुवाप्रति समर्पित बुवा कवितासम्म सुन्ने धेरै श्रोताले पराजुलीका कवितामा आफ्नै भावनाहरु समेटिएको महसुस गरे।
कन्सर्टमा बेलायतमै बस्ने स्रष्टाहरु नृपेश उप्रेती, फडिन्द्र भट्टराई, रमेश कायस्थ र रेखा खरेलले समेत आफ्ना कविता र गजलको आकर्षक प्रस्तुति गरे ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीले आफ्नो छोटो मन्तव्यमै एक कविता सुनाए भने आयोजकका तर्फबाट स्रष्टा प्रतिमा केसीले कवितामै स्वागत मन्तव्य सुनाइन् ।
आयोजक क्षत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्रीले कार्यक्रम समापन गर्दै सहयोगीहरुप्रति आभार प्रकट गरे ।
आसन, भाषण लगायतका औपचारिकताहरुबिना विशुद्ध कवितामय उक्त कार्यक्रमको सञ्चालन कन्सर्टका संयोजक रामशरण सिम्खडाले नै गरेका थिए ।
सिम्खडाकै संयोजनमा गत वर्ष कवि नवराज पराजुलीकै प्रस्तुतिमा गत वर्ष पहिलो कविता कन्सर्ट आयोजना भएको थियो ।