लन्डन नेपालको पर्यटन प्रबर्द्धन तथा बुद्धको जन्मस्थलको रुपमा नेपाल लाई चिनाउने उद्देश्यले लन्डनको मुटु मानिने ट्राफालगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने ब्यापक तयारी भएको छ। बुद्ध फाउन्डेशन यूकेको आयोजना तथा नेपाली दुतावास लन्डनको सहकार्यमा आगामी मे महिनाको १२ तारिख विशेष समारोहको आयोजना गर्दै ट्राफालगर स्क्वायरको खुला प्रांगणमा कार्यक्रम हुन् लागेको हो। कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायत, कपिलवस्तु समाज यूके, नेपाल पर्यटन बोर्ड समेतले सहकार्य गर्दै तयारीलाई तिब्र बनाएका छन।
बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले बेलायत स्थित बिभिन्न संघ संस्था तथा समस्त नेपाली समुदायलाई सक्रिय सहभागिताको लागि आव्हान गरेका छन। 'यो कार्यक्रम वास्तवमा नेपाललाई विश्व समुदाय सामु चिनाउने एउटा अवसरको रुपमा बुझेर सहयोग गर्नु हुनेछ भन्ने आशा लिएका छौ', अध्यक्ष श्रेष्ठले भनेका छन।
कार्यक्रमको बृहत समन्वय र प्रचार प्रसारको लागि बिभिन्न बिभाग हरु छुट्टाएर झन्डै २ सय सदस्यीय समिती गठन गरिएको छ।
बुद्ध जयन्ती कार्यक्रमको संयोजकको जिम्मेवारी समाजसेवी शिवजी श्रेष्ठलाई दिइएको छ।
कार्यक्रम नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०' समेत प्रवर्धन हुने गरी यसपटकको कार्यक्रमलाई पर्यटक लक्षित बनाउने योजना अनुसार काम भईरहेको जानकारी संयोजक शिवजी श्रेष्ठले दिएका छन। ' नेपाल लाई बुद्ध भूंमीको रुपमा विश्वमा चिनाउने कुरा त छदै छ, समग्रमा नेपालको कला संस्कृती र पर्यटकीय पहिचान झल्काउदै पर्यटन विकासमा बिशेष टेवा पुर्याउन सकियोस भन्ने हाम्रो उद्देश्य हो', सेतोपाटी संगको कुराकानीमा संयोजक श्रेष्ठले भने ' हामीले नेपाली समुदायको उपस्थितिको अपेक्षा त गरेकै छौ यसका अलावा स्थानीय राजनैतिक प्रतिनिधी, बिभिन्न देशका कुटनैतिक नियोग र सेलेब्रेटी तथा ट्राभल ब्यावसायी, मिडियाकर्मी जस्ता पर्यटन लक्षित विदेशी पाहुनाहरुको उल्लेख्य उपस्थितीमा कार्यक्रम गर्ने तयारी अगाडी बढेको छ' , श्रेष्ठले भनेका छन।
कार्यक्रममा नेपालको भेषभुषा झल्किने बिभिन्न झाँकी हरु देखाईनुका साथै स्क्वायरको मन्चमा विश्व शान्ति पुजा र सांस्कृतिक कार्यक्रम रहने छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन गर्ने सामग्री हरु समेत वितरण गर्ने योजना आयोजकको रहेको छ।
बेलायतको संसद भवन, प्रधानमन्त्री कार्यालय र बेलायती महारानीको दरवार संग कनेक्ट हुने ट्राफालगर स्क्वायरमा दैनिक हजारौं विदेशी पर्यटकहरु भ्रमण गर्ने गर्छन।
कार्यक्रमको लागि नेपाली दुतावास लन्डनको तर्फबाट कुटनैतिक नियोग संगको समन्वयको लागी नेपाली दुतावास लन्डनका उपनियोग प्रमुख शरद राज आरन क्रियाशील रहेको जानकारी आयोजकले दिएका छन। कार्यक्रमको उप संयोजक ह्यारी गुरुङ र जीवन सेन रहेका छन।
नेपाल लाई बुद्धको जन्मस्थलको रुपमा विश्वभर प्रचार प्रसार गर्दै विश्व शान्तिको लागी बुद्धका सन्देश फैलाउने उद्देश्यले ट्राफालगर स्क्वायरमा विगत ४ बर्ष देखि बुद्ध जयन्ती मनाईदै आएको छ। यसका अलावा कार्यक्रमको प्रमुख उद्देश्य विश्व प्ल्याटफर्ममा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य रहेको जानकारी आयोजकहरुले दिएका छन।