एनआरएनए यूकेले बेलायतस्थित नेपाली संघसंस्थासँगको सहकार्यमा कमसेकम १ सय थान अक्सिजन कन्सन्ट्रेटर मेशिन नेपाल पठाउने भएको छ।
नेपाली दूतावास लण्डनसमेतको समन्वयमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो।
विभिन्न संघसंस्थाका पदाधिकारीले आवश्यक सहयोग गर्ने वाचा गर्दै कमसेकम १ सय वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्। पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिनको प्रतिबद्धता आएको छ।
करिब १ सय भन्दा बढी प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुई वटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए।
उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्काल आवश्यक रहेको जानकारी दिए। उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए।
उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे। रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वयमा दूतावासले पहल गर्ने बताए। साथै उनले बेलायत सरकारबाट नेपालमा खोप उपलब्ध गराउने पहल समेत भईरहेको बताएका थिए।
एनआरएनए आईसीसी महासचिव डा हेम राज शर्मा, एनआरएन यूके पूर्व अध्यक्षहरु कुल आचार्य, सूर्य गुरूङ, महेन्द्र कँडेल, योग कुमार फगामी, यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना, आईसीसी सदस्य राम शरण सिंखडा लगायतले तत्काललाई अक्सिजन कन्सन्ट्रेटर नै उपयोगी हुने भएकोले यथासक्य छिटो नेपाल पुग्ने गरी सहयोगमा जुटन आव्हान गरेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपालमा विपत्ति आइपरेको बेला एनआरएन र दूतावासको समन्वयमा अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पुर्याउने पहलको सराहना गर्दै कार्यक्रममै संस्थागत तथा व्यक्तिगत रुपमा दर्जनौ व्यक्तिहरुले आआफ्नो तर्फबाट अक्सिजन कन्सन्ट्रेटर प्रायोजन गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए।
एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले ‘अक्सिजन पठाउँ’ अभियानमा सहयोगको प्रतिवद्दता गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै १० दिन भित्रै अक्सिजन कन्सन्ट्रेटरहरु नेपाल पुर्याउने लक्ष्यसहित अभियान शुरु गरेको जानकारी दिइन्।