समान पेन्सन लगायतका मागसहित लन्डनमा आमरण अनसन बसिरहेका भूतपूर्व गोर्खाले तेह्रौं दिनमा अनसनको तोडेका छन्।
गोर्खा सत्याग्रह संघर्ष समितिका अनुसार गोर्खाको मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो।
लन्डनस्थित नेपाली दूतावासले आगामी डिसेम्बर भित्र वार्ता प्रारम्भ गर्ने प्रतिवद्धतासहितको बेलायती रक्षा मन्त्रालयको पत्र प्राप्त भएको पुष्टी गरेको छ। 'गोर्खाको मागको सम्बन्धमा आगामी डिसेम्बर भित्र भुपू गोर्खा संगठनका प्रतिनिधिसहित नेपाल सरकारमार्फत वार्ता प्रारम्भ गर्ने लिखित पत्र दूतावासमा प्राप्त भएको छ', सेतोपाटीसँग कुरा गर्दै नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले जानकारी दिईन्।
गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, धन गुरूङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेको तेह्रौं दिनमा बिहीबार अनसन तोडेका हुन्।
बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर अनसनरत गोर्खालाई जुस पिलाएर अनसन तोडाएका थिए।
भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका तीन अभियन्ता गत अगस्ट ७ तारिखदेखि आमरण अनसनमा थिए।
गोर्खाको यो आन्दोलनले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा बटुल्न सफल भएको थियो। बेलायतका विभिन्न नेपाली संघ संस्था तथा सिंगो नेपाली समुदायले आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै समर्थन जनाएका थिए।