लन्डनमा आइतबार आयोजित नेपाली मेलाको अवसरमा नेपालका बिभिन्न समुदायको संस्कृति झल्किने भेषभुषा सहितको झाँकीहरुको बृहत प्रदर्शनीले कार्यक्रम स्थल नेपालमय बनेको छ।
तमुधि यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार केम्पटन पार्क रेस कोर्समा १२ औं नेपाली मेला आयोजना गरेको हो। कोभिड संक्रमण बढिरहँदा पनि मेलामा झन्डै २५ सय जना सहभागी भएको आयोजकको भनाइ छ।
'हाम्रो संस्कार, हाम्रो पहिचान, हाम्रो गौरव' नारासहित आयोजित मेलामा झाँकी र नृत्य मुख्य आकर्षण बने। गायन, खाना लगायत अन्य व्यापारिक स्टलमा पनि दर्शक झुम्मिए ।
मेलामा गुरूङ, मगर, किरात, राई, लिम्बु, तामाङ, नेवारलगायत विभिन्न जातिले आफ्नो मौलिकता झल्कने गरी पोशाक र गरगहना लगाएर आएका थिए।
प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले मेलामा सिंगो नेपाल उपस्थित भएको उल्लेख गर्दै नेपालको भाषा, संस्कृति, सभ्यता, भेषभूषासहित नेपाल र नेपाली चिनाउने झलक हेर्न पाउनु गौरव भएको बताए।
तमुधिं यूके अध्यक्ष हितकाजी गुरूङले प्रवासमा नेपाली कला संस्कृति, भाषा, परम्परा, भेषभूषा आदि जीवन्त राख्ने उद्देश्यले मेला गरिएको जनाउँदै सबै सहयोगीप्रति आभार व्यक्त गरे।
मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरूङका अनुसार सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप जित्यो।
दोस्रो पुरस्कार चार भन्ज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो। तेस्रो पुरस्कार किरात राई यायोक्खा यूकेले ५ सय पाउन्ड पायो। उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो।
झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भन्ज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भएर ५ सय र ३ सय पाउन्ड पाए।
नृत्यमा पनि सिक्लेस टिमले नै जितेर ५ सय पाउण्ड र दोस्रो भई किरात राई यायोक्खाले ३ सय पाउन्ड प्राप्त गरेको छ।
सो अवसरमा बेलायतवासी गीतकार एकेन्द्र गुरुङद्वारा सम्पादित 'बेलायतमा नेपाली गीत' पुस्तक पनि विमोचन गरियो।
कार्यक्रममा नेपाली सामानहरू तथा मोमोलगायतका नेपाली खानाका स्टलहरु समेत सहभागीहरुको लागि विशेष आकर्षण बनेका थिए। कार्यक्रमका सहभागीले मेलालाई 'मिनी नेपाल' को संज्ञा दिएका थिए।