युक्रेन युद्वबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरू नेपाली दूतावासको पहलमा निस्केका छन्।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो ।
राजदूत खड्काका अनुसार रूस-युक्रेन द्वन्द्व पीडित नेपालीहरू दूतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिए।
रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलीयाहरू युरोपका बिभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया–बेलारूस युक्रेनहुँदै युरोप ल्याउन सकृय हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
खड्काले युद्वमा विस्थापित भएका नेपालीमध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए। २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो।
नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफैं सहयोग जुटाएर नेपाल फर्किएका हुन्।
यसैबीच युद्वमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ। हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन्।
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विद्यार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिए।
उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिँडेको जानकारी दिए।
एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको बताए।
यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्व प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए। उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए।
एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीलाई खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए।
युद्व शुरू भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायतको देशमा पुगेका छन्।
पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।
लिथआनिया र बेलारूसको जंगलमा ११ नेपाली अलपत्र
रूसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्।
उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन्।
उनीहरू रूसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ। सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वाट्सएप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए।
जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्व पीडित नभएर अन्य विचौलियामार्फत युरोप छिर्न हिँडेको हुनेसक्ने आशंका गरे।
खड्काले उनीहरुको खोजीको लागि रूसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरुसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए। उनीहरूले रूसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए।