बेलायतको हल विश्वविद्यालयमा भएको एक भव्य दिक्षान्त समारोहकाबीच उक्त विश्वविद्यालयले प्राडा सूर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ।
प्राध्यापक सुवेदीलाई दुई वर्ष अघि नै सन् २०२० उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडको कारण गत दुई वर्षदेखि हुन नसकेको दिक्षान्त समारोह अहिले सम्पन्न भएको हो।
उक्त विश्वविद्यालयकी कुलपति व्यारोनेस भर्जिनिया बटमलिले प्राध्यापक सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेकी हुन्।
उनले सुवेदीको सम्मानमा रात्री भोजको आयोजना पनि गरेकी थिइन्। प्राध्यापक सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भइ कानूनमा स्नातकोत्तर गरेका थिए।
हालै मात्र उक्त विश्वविद्यालयले प्राध्यापक सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बाच्न पाउने विषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो।