हालै प्रकाशित कथा संग्रह ‘बहिर्गमन’ को बिक्रीबाट प्राप्त सबै रकम धुर्मुस सुन्तली फाउन्डेसन उपलब्ध गराउने पुस्तकका लेखक धर्म सापकोटा राजुले बताएका छन्।
गत सप्ताहन्त लन्डनमा पुस्तकको अन्तर्राष्ट्रिय विमोचन गर्दै लेखक सापकोटाले उक्त कुरा बताएका हुन्।
पुस्तक विमोचन पछि बोल्दै सापकोटाले पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रोयल्टी रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरिदै आएको र अब पनि निरन्तर प्रदान गरिने बताएका हुन्।
नेपालमा हालै विमोचन गरिएको उक्त पुस्तक अन्तर्राष्ट्रिय रुपमा लन्डनमा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले सोसाईटी अफ नेप्लिज प्रोफेशनल युकेको कार्यक्रममा विमोचन गरे।
नयाँ वर्षको कार्यक्रमका बिच गरिएको पुस्तक विमोचन पछि बोल्दै राजदूत सुवेदीले परोपकारी साहित्य लेखनको प्रशंशा गर्दै लेखक सापकोटालाई बधाई तथा शुभकामना दिए।
लेखक सापकोटाले आफ्नो मन्तव्यमा आफ्नो लेखनमा सरलतालाई पछ्याएको बताउँदै आफ्नो पुस्तक अध्ययन गरिदिन सम्पूर्ण पाठकहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा नेप्लिज प्रोफेसनल्स सोसाईटीले लेखक सापकोटालाई सामान समेत गरेको थियो। सोसाईटीका अध्यक्ष डा. तेजेन्द्र फेरालीले पुस्तक प्रकाशनले डायस्पोरा साहित्यमा एक उत्साह थपेको बताएका थिए।