गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा बुद्ध वृद्दाश्रम बनाउनको लागि लन्डनमा आयोजित च्यारिटी कार्यक्रममा ३३ हजार पाउण्ड (झन्डै ४४ लाख नेपाली रुपैयाँ) रकम संकलन भएको छ। बुद्ध फाउन्डेसन यूकेले आयोजना गरेको उक्त च्यारिटीमा एन आर एन यूके, कपिलवस्तु समाज यूकेलगायत अन्य संघ संस्थाले सहयोग र सहकार्य गरेका थिए। कार्यक्रमबाट ३३ हजार पाउण्डको प्रतिवद्दता आईसकेको जानकारी फाउन्डेसनका कोषाध्यक्ष राजन खकुरेलले दिएका छन्।
बेलायतका नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको यो अभियान अन्तर्गत आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले प्रमुख अतिथिको रुपमा बोल्दै सार्थक कार्यको थालनी गरेकोमा बुद्ध फाउन्डेसन र सहयोगीहरुको प्रशंशा गरे।
फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले सहयोगीप्रति आभार व्यक्त गर्दै वृद्धाश्रम निर्माणको सपना साकार बन्ने विश्वास व्यक्त गरे।
फाउन्डेसनका उपाध्यक्ष सचिन श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा एन आर एन यूके अध्यक्ष मुच्छेत्र गुरूङ, युरोप संयोजक कुल आचार्य, एन आर एन युके उपाध्यक्ष शान्ति थापा, एन आर एन पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजसेवी तथा ब्यावसायी विनोद ज्ञवाली, शिवजी श्रेष्ठ लगायतले मन्तब्य राख्दै पुणित कार्यको प्रशंशा गरेका थिए ।
कार्यक्रम संयोजक हिराधन राईले उपस्थित हरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सहयोगी हरुलाई सम्मान गर्नुका साथै अर्को चरणमा नाम्लो ब्याण्डको सांस्कृतिक प्रस्तुती, नेपालबाट आएकी नृत्यांगना तेरिया मगर लगायतले प्रस्तुति दिएका थिए ।
नेपालमा कपिलवस्तु जिल्लाको बाणगङ्गा, नन्दनगरमा ७० लाखको अनुमानित लागतमा १४ वेडको वृद्धाश्रम बनाउने लक्ष्य राखेको आयोजकले बताएका छन्।
'कार्यक्रम पछी पनि सहयोग आउने क्रम जारी नै त्यसैले हाम्रो लक्ष पुरा हुने कुरामा विश्वस्त छौ', कार्यक्रम पश्चातको जिज्ञासामा बुद्द फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठले सेतोपाटी संग भने ।