बेलायतको चुनाव
आफ्नो पार्टीको पूर्ण बहुमत हुँदा हुँदै झनै दरिलो मतादेशको लागि भन्दै बेलायतमा आम निर्वाचनको आव्हान गरेर बहुमत गुमाएकी बेलायती प्रधानमन्त्री टेरेसा मे गठबन्धन सरकारको नेतृत्व गर्दै पुनः प्रधानमन्त्री बन्ने भएकी छन्।
भर्खरै सम्पन्न आम निर्वाचनमा उनको कन्जरभेटिभ पार्टीले गत निर्वाचनको तुलनामा आफ्नो १३ सिट गुमाउँदै बेलायती संसदको ६५० सिट मध्ये ३१८ सिट जितेर अल्पमतको ठूलो पार्टी बने पनि सरकार गठनको लागि आवश्यक ३२६ सिट पुर्याउन नसक्दा गठबन्धनको प्रस्ताव अगाडि आएको हो।
चुनावमा १० सिट मात्र हासिल गरेको उत्तरी आयरल्याण्डको डेमोक्र्याटिक यूनियनिस्ट पार्टी (डीयू पी) सँगको गठवन्धन गर्दै मे ले सरकार गठन गर्ने 'डील' भएपछि संसदमा पाचौँ स्थानमा रहेको डीयूपी सरकारमा सामेल हुने अवसर मिलेको हो।
आफ्नो बहुमत प्राप्त पार्टीलाई युरोप बहिर्गमन (ब्रेक्जीट) मामिलामा दरिलो बन्ने आकांक्षा सहित चुनावको आव्हान गरेपछि प्राप्त नतिजामा बहुमत गुमाउँनाले प्रधानमन्त्री मे लाई ठूलो आलोचना र राजनैतिक झट्काको सामना गर्नुपरेको छ। तर उनले प्राप्त नतिजाको बावजुत देशको वर्तमान अन्यौलको अवस्थालाई फत्ते गर्न आफैंले नेतृत्व गर्ने बताएकी छन्।
प्रमुख प्रतिपक्षी लेबर पार्टीले गत निर्वाचनमा भन्दा ३० सिट बढाएर आफ्नो संसद संख्या २६२ पुर्याएको छ । सामाजिक सुरक्षा, समावेशिता तथा नरम ब्रेक्जिटको मुद्दामा चुनावी ताका आफ्नो प्रभाव बढाउन सकेका बिपक्षी नेता जेरेमी कोर्विनको लेबर पार्टीलाई जवान तथा आप्रवासीहरुको धेरै मत प्राप्त भएको बताईको छ।
आप्रवास मुद्दामा फार राईट रुपमा चिनिने गत वर्षको ब्रेक्जिट जनमत संग्रहमा अग्र पंक्तीमा उदाएको यूके ईण्डीपेंड़ेन्स पार्टी (यूकीप ) ले अहिलेको चुनावमा एक सिट पनि प्राप्त नगरेर पत्तासाफ जस्तै हुनुलाई पनि रोचक मानिएको छ।
त्यसैगरी यूकेबाट स्कटल्याण्ड अलग्याउनु पर्छ भन्ने वकालत गर्ने स्कटिस न्याशनल पार्टी (एस एन पी )ले आफ्नो २१ सिट गुमाउँदै ३५ सिटमा खुम्चिन पुगेको छ।
१८ हजार मत ल्याएर हारे बेलायतमा नेपालका कैनी
बेलायती संसदमा नेपाली मुलको पहिलो उम्मेदवारको रुपमा लेबर पार्टीको तर्फबाट दक्षिण पूर्वी इंगल्याण्डको डार्टफोर्ड क्षेत्रमा उम्मेद्वारी पाएका डा. बच्चु कैलाश कैनीले १८ हजार २४ मत ल्याएर पराजित बनेका छन्।
कैनीको क्षेत्रमा बिजयी कन्जरभेटिभ उम्मेदवार गारेथ जोन्सनले ३१ हजार २ सय १० मत ल्याएका छन्। विशेष गरेर नेपाली समुदायमा निकै चासो र गौरवको रुपमा हेरिएको उनको उम्मेद्वारीले बेलायतको सिंगो नेपाली समुदाय उत्साहित बनेको थियो। यसअघि दुई पटक भारी मतान्तरले कन्जरभेटिभ पार्टीले जितेको उक्त क्षेत्रमा डा. कैनीले गत निर्वाचनमा भन्दा झन्डै ५ हजार बढी मत प्राप्त गरेका छन्।
छोटो समयको कम तयारीका बावजुत पनि उत्साहजनक मत प्राप्त भएको भन्दै उनले सम्पूर्ण मतदाता तथा चुनावी अभियानका सहयोगीहरूप्रति आभार व्यक्त गरेका छन्।
डा. कैनीले बेलायतको एउटा प्रमुख पार्टीको तर्फबाट आधिकारीक रुपमा सांसदको उम्मेदारी पाउनुलाई यहाँको नेपाली समुदायमा निकै उत्साहको रुमपा लिइएको थियो ।
चुनावी परिणाम पछि सेतोपाटीसँगको कुराकानीमा उनले आफ्नो राजनैतिक क्रियाशीलतालाई कायम राख्ने बताए। ‘चुनावी अभियानमा सघाउने नेपाली समुदाय प्रति बिशेष आभारी छु’, उनले भने।
नेपालमा तनहुँ कमलावारी घर हुने डा. कैनी गत स्थानीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट काउन्सिलरको रुपमा निर्वाचित छन्।