बेलायती युवराज वा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना भएका छन्।
शरीरमा सङ्क्रमण भएको कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचार गराउने प्रयोजनका लागि उनलाई लन्डनको किङ्ग एड्वार्ड सातौँ नामक स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
पहिलेको तुलनामा उनको स्वास्थ्यमा सङ्क्रमण बढेको पाइएपछि अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ। युवराज फिलिपले यसै वर्षको अन्त्यसम्ममा आफूले बहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसकेका थिए।
त्यस्तै, आजै सुरु हुन लागेको यसपालिको संसदको सत्रको उद्घाटन समारोह र रोयल एस्कोट हर्स रेस अश्वारोहण कार्यक्रममा महारानी एलिजाबेथसँगै युवराज फिलिप पनि उपस्थित हुने कार्यतालिका निश्चित गरिएको थियो ।
युवराज फिलिप अस्वस्थ भएका कारण उनको सट्टा अब राजदम्पतिका पुत्र नवयुवराज चार्ल्स आफ्नी आमा महारानी एलिजाबेथसँगै उपस्थित हुनेछन् । रासस/एएफपी