गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा ब्यवसायी डा. उपेन्द्र महतो आफूले नेपालमा दश ठूला अस्पताल निर्माणको कार्ययोजना तयार पारेको बताएका छन्। डा. महतोले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर ५ गरेर दश सुपर हस्पिटल निर्माणको आफ्नो महत्वाकांक्षी योजना लन्डनमा सार्वजनिक गरेका हुन्।
गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा लण्डनमा सम्पन्न एक अन्तरकृया कार्यक्रममा बोल्दै डा. महतोले नेपालीलाई उपचारार्थ विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै विदेशबाट समेत उपचार हेतुका बिरामीहरु आकर्षित गर्न मेडिकल टुरिजम् (स्वास्थ्य पर्यटन) को विकास समेत गर्न सकिने बताए। 'नेपालको मौसम, अतिथि सत्कार, गुणस्तरीयता तथा तुलनात्मक रुपमा सस्तो समेत पर्ने भएकोले उपचारको लागि विदेशबाट समेत विरामी आउने कुरामा मेरो विश्वास छ', मेडिकल टुरिजममा बंगलादेशको ३०० प्रतिशतको वृद्धिलाई हवाला दिदै उनले भने।
डा. महतोले आफ्नो कार्ययोजनामा रहेको स्वास्थ्य क्षेत्रमा एन आर एन हरुले पनि लगानी गर्न सक्ने बताउँदै नेपाललाई मेडिकल हवको रुपमा विकास गर्न सकिने तर्कहरु प्रस्तुत गरे। 'तपाईँहरुसँग भएको सिप, अनुभव र दक्षता नेपालको स्वास्थ्य क्षेत्रमा लगाउनुहोस्', लगानीको प्राथमिकता स्वास्थ्य क्षेत्र हुनुपर्ने कुरामा जोड दिदै उनले भने। शिक्षा, स्वास्थ्य, कृषि तथा हाइड्रोपावर क्षेत्रको विकास मार्फत नेपालले सम्बृद्धि हाशिल गर्न सक्ने भन्दै उनले समग्र देश सम्बृद्ध नभएसम्म ब्यक्ति सम्बृद्ध नहुने बताए।
कार्यक्रमम बोल्दै डा. महतोले ललितपुरको मैसेपाटी नक्खुमा एक हजार करोड रूपैयाँको लागतमा निर्माणाधीन ७५० शैय्यासम्म विस्तार गर्ने गरी मेडीसिटी हस्पिटल निर्माण कार्य अगाडि बढेको बताए।
३० रोपनी क्षेत्रफलमा फेलिएको हस्पिटल 'सुपर स्पेशियलिटी' विशेष सुविधा युक्त हुने समेत उनले बताए ।
डा. महतोले डाक्टरलाई 'एक अस्पताल सेवा' अवधारणा अन्तर्गत ल्याउनुपर्ने धारणा राखे। उनले आफ्नो आयोजनाका हस्पिटलमा डाक्टरले अन्य स्थानमा अनुवन्धित हुन नपाउने भन्दै नेपाली डाक्टरको अभाव भएमा विदेशी डाक्टरसमेत नियुक्त गर्न सकिने बताए।
एनआरएनए युकेका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एन आर एन यूरोप संयोजक कुल आचार्य, एनआरएनए सल्लाहकार विश्व आदर्श पण्डित लगायतका वक्ताहरुले महतोको परियोजना प्रति शुभेच्छ्या प्रकट गरे ।
कार्यक्रममा बोल्दै समाजसेवी डा. राघव प्रसाद धिताल, नेप्लिज डाक्टर्स एसोसियसनकी अध्यक्ष डा. बिना सुब्बा, डा. कपिल रिजाल लगायतले नेपालको स्वास्थ्य क्षेत्रको योगदान प्रति आफूहरुको पूर्ण सहयोग रहने बताए ।