बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।
विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोकेको बारेमा पत्ता लगाउन यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।
लण्डनका मेयर सादिक खानले बुधबार सो जानकारी दिएका हुन्। उनले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउन यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राखे। पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिएको छ । यस वर्ष बेलायतमा चक्कु प्रहारबाटै २४ जनाको ज्यान गएको छ ।
हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ वर्षमुनिका युवा थिए ।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस् भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिएका छन्।यस हप्तामात्र लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको थियो।
गएको हप्ता लण्डन प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो ।
यो कारवाहीपछि लण्डन प्रहरी युवालाई चक्कु बोक्ने लत छुटाउन यस्तो नीति बनाउन आवश्यक रहेकोले विद्यालयमा छिर्ने द्वारमा नै उक्त उपकरण राख्ने निर्णयमा पुगेको बताएको छ।
बेलायतमा पछिल्ला केही समययता आतङ्ककारी हमला र चक्कु प्रहार गरी हत्या गर्नेजस्ता हिंसात्मक घटनामा वृद्धि भएको छ।
त्यसैगरी मेयर सादिकले 'चक्कुले तिम्रो जीवनको रक्षा गर्ने नभई नष्ट गर्ने हो' भन्ने सन्देशमूलक अभियानहरु सञ्चालन गर्न महानगरका हरेक समुदाय र नगरीलाई विशेष आग्रह पनि गरेका छन्। रासस/सिन्ह्वा