प्रधानसेनापति राजेन्द्र क्षेत्री साताब्यापी सद्भावना भ्रमणका क्रममा बेलायत आइपुगेका छन्। संयुक्त राष्ट्रसंघ मार्फत विश्व शान्ति कार्यमा सैनिक पठाउने देशको न्यूयोर्कमा सम्पन्न रक्षा सम्मेलनमा सहभागी भएर फर्किने क्रममा गत आईतबार प्रधानसेनापति क्षेत्री लन्डन आएका हुन्।
बेलायती सेनाध्यक्षको निमन्त्रणामा बेलायत आएका क्षेत्रीले बेलायतका सैन्य तथा रक्षा अधिकारीसँग भेटघाट गरेका छन्।
बेलायतका रक्षा अधिकारीसँगको भेटमा नेपाल बेलायतबीच द्विपक्षीय हित, नेपालको सैन्य विकासमा बेलायतको सहयोग लगायतका विषयमा छलफल भएको बताईएको छ। रक्षा मन्त्रालयको भ्रमणमा सेनापति क्षेत्रीले बेलायती सेनाका वर्तमान गतिविधीबारे अवलोकन गरेका थिए।
यसैबीच गत सोमबार नेपाली दूतावास लन्डनले सेनापति क्षेत्रीको स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल बेलायत ऐतिहासिक सैन्य सम्बन्धको चर्चा गरेका छन्। सन् १८१६ को सुगौली सन्धी पश्चातको द्विदेशीय सम्बन्ध पृथक र आपसी हितका लागि उपलब्धी मुलक र मजबुत बन्दै गएको बताए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले विश्व शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाली सेनाको साहसिक चिनारी विश्वमै प्रख्यात रहेको बताए ।
कार्यक्रममा बेलायती सेनाका उपप्रमुख बेलायतस्थित बिभिन्न देशका कुटनीतिज्ञ, एनआरएनका पदाधिकारी, निश्चित नेपाली संघ संस्थाका प्रतिनिधि साथै बेलायती सेनाबाट अवकास प्राप्त केही गोर्खा अभियन्ताको उपस्थिति थियो।
प्रधानसेनापति क्षेत्रीले नेपाल फर्किनु पूर्व बेलायती सेनाको मुख्यालय साथै बिभिन्न सैनिक ईकाईकोसमेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
नेपालमा महाभूकम्पको बखत बेलायतबाट पठाईएका सैनिक हेलिकप्टर मार्फत सहयोग सञ्चालनमा नेपाल सरकारको अस्वीकृती, बेलायतमा नेपाली सेनाका कर्नेल कुमार लामाको गिरफ्तारीपछिको युद्व अपराध सम्बन्धीको मुद्दा जस्ता विषयले चिस्याएको नेपाल-बेलायत सम्बन्धलाई थप सुदृढ बनाउन प्रधान सेनापतिको औपचारिक भ्रमण फलदायी हुने अपेक्षा कुटनैतिक वृत्तमा छ।