आगामी सेप्टेम्बर ९ का लागि तय गरिएको गैरआवासीय नेपाली संघ बेलायतको चुनावी सरगर्मी बढ्दै गएको छ । संस्थाको नेतृत्व तथा विभिन्न पदाधिकारीको लागी आफ्नो उम्मेद्वारी घोषणा गर्ने तथा आफ्नो पक्षमा माहोल सिर्जना गर्नको लागि अहिले एनआरएनका पदीय आकांक्षीहरु प्रचारप्रसारमा उत्रिएका छन्। पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणापत्र तथा प्रतिबद्धता जाहेर गर्ने क्रम तीब्र बनेको छ। कतिपयले सामाजिक सञ्जालमार्फत पनि आफ्नो उम्मेद्वारीको प्रचार गरिरहेका छन्।
हालसम्म एनआरएनए, युकेको अध्यक्षमा वर्तमान उपाध्यक्षहरु दाशु पाण्डे, योग कुमार फगामी, शान्ति थापा र हिराधन राईले आगामी कार्यकालको अध्यक्ष पदका लागि आफ्नो आकांक्षा देखाएका छन्। यो बाहेक कार्यसमिती बाहिरबाट समेत उमेद्वारी आउन सक्ने चर्चा छ। त्यसैगरी अन्य पदाधिकारीहरुमा समेत दर्जनौ आकांक्षीहरुले इच्छा जाहेर गरिसकेका छन्।
यसैबीच आसन्न निर्वाचन सम्पन्न गर्नको लागि एनआरएन, यूकेले डा. चन्द्र लक्सम्बाको संयोजकत्वमा राम शरण शिंखडा सदस्य सचिव रहने गरी ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
अधिवेशनमा भाग लिनको लागि आगामी अगस्ट १४ भित्रै एनआरएन, युकेको सदस्यता लिइसक्नुपर्ने प्रावधान अधिवेशन कार्यतालिकामा सुचिकृत गरिएको छ। यसपटकको लागी सदस्यता शुल्क २५ पाउण्ड तय गरिएको छ।
सदस्यता शुल्कको बृद्धि सम्बन्धि गुनासो हुँदाहुँदै पनि एनआरएन केन्द्रले एनआरएन भवन सहयोगार्थ सदस्यता शुल्कमार्फत योगदान माग गरेअनुरुप यसपटकको लागि मात्र लागु हुनेगरी सदस्यता शुल्क २५ पाउण्ड तोकेको हो। यसअघि एनआरएन, युकेको सदस्यता शुल्क १० पाउण्ड मात्र रहेको थियो।
सदस्यता शुल्क बृद्धिले यसपटक पंजीकृत सदस्य संख्या साबिकभन्दा कम हुन सक्ने आंकलन गरिएको छ।
एनआरएन, युकेको सदस्य बन्नको लागी पहिलो पटक अनलाईन सुविधा(www.uk.nrna.org )को व्यवस्था गरिएको छ। तर केही कठिनाइ परेमा कागजी फाराम भरेर सदस्य बन्न सक्ने प्रावधानलाई समेत निरन्तरता दिइएको छ।