जर्मनीको फ्र्यांकफर्ट शहर अहिले नेपालमय बनेको छ। गैर आवासीय नेपाली संघको तीन दिवसीय युरोप क्षेत्रीय भेला जर्मनीको फ्र्यांकफर्ट शहरमा संस्थाको भावी नीति तथा कार्यदिशामाथिको छलफलको प्रारम्भ गर्दै सुरू भएको छ।
एनआरएन केन्द्रीय नेता सहित युरोप भरका करिब ३ सय एनआरएन अभियान्ताहरुको सहभागितामा शुरु भएको यो यूरोप भेलाले एनआरएन यूरोपको भावी कार्यदिशा तय गर्ने समेत बताईएको छ।
फ्र्यांकफर्टको लिन्डर होटेलमा शनिबार आयोजित उद्घाटन समारोहमा कार्यक्रम सफलतको शुभकामना दिदै एन आर एनका नेताहरुले यो अभियानको विगत वर्तमान र भविष्य माथि आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष शेष घलेले संस्थाको आगामी यात्राका लागि बाटो तय गर्नुपर्ने बताए। अध्यक्ष घलेले नेपालमा लाप्राक बस्ती पुनर्निर्माण लगायत एनआरएनका वर्तमान परियोजनाहरुको बारेमा जानकारी दिँदै नेपाल विकासको भावनालाई कार्यान्वयन गर्ने चुनौतीको जिम्मेवारीबोध गर्नुपर्ने बताए। साथै उनले संस्थाको गतिशिलताको लागि संस्थागत संरचना र दृष्टीकोण समेतमा परिवर्तन गर्नुपर्ने बताए।
अध्यक्ष घलेले आगामी अक्टुवरदेखि आफू सक्रिय भूमिकाबाट बिदा लिने घोषणा गर्दै भविष्यको निर्माण गर्ने नेतृत्व चयन हुनु पर्ने कुरामा जोड दिए। ‘संस्थाको जीवन भनेको सही नीति र नेतृत्व नै हो, तपाईँहरू यस्तो नेतृत्व चुन्नुहोस् जसले ईतिहाँसको रक्षा र भविष्यको निर्माण गरोस्,’ अध्यक्ष घलेले भने।
उद्घाटन कार्यक्रममा बोल्दै एन आर एनए प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेले संस्थाको उद्देश्यमा निहीत मर्ममाथिको जिम्मेवारी कति पुरा गर्न सकियो भनेर समिक्षा र पुनरावलोकन गर्नुपर्ने बताए।
‘विगतका प्रतिवद्दताहरु के कती पुरा गर्न सकियो समिक्षा गर्ने बेला भएको छ अन्यथा सम्मेलनहरुको औचित्य पुष्ठी गर्न मुस्किल पर्छ’, लामिछानेले भने।
एन आर एनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नो मन्तव्यमा सहभागीलाई भिजिटिङ कार्ड मात्र बनाउने उद्देश्यले चुनाव केन्द्रीत भएर क्रियाशील नहुन आव्हान गरे। संस्थापक अध्यक्ष महतोले विद्यार्थी तथा वैदेशिक रोजगारमा जाने सबै नेपालीहरूलाई समेत एन आर एनको दायरामा ल्याउने गरी एन आर एन परिभाषाको दयारा फराकिलो बनाउनु पर्ने धारणा राखे। उनले आफ्नो मन्तब्यमा नेपाल र नेपालीको सवृद्धिको बाटो बोलेर होईन गरेर देखाउन पर्ने कुरामा जोड दिएका थिए।
जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा, एन आर एनए आई सी सी उपाध्यक्ष कुमार पन्त, सल्लाहकारहरु विश्वकान्त मैनाली, विश्व आदर्श पण्डित, पुष्प थापा, त्रिलोक गुरुङ, विधान संयोजक हेम राज शर्मालगायत नेपालबाट निम्त्याईएका परराष्ट्र मन्त्रालयका सह सचिव तिर्थ राज वाग्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए।
सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको उद्घाटन समारोहमा एन आर एनए जर्मनीका अध्यक्ष नवराज रोसयाराले सहभागीलाई स्वागत गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा एन आर एन युरोप संयोजक कुल आचार्यले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपालको विकासमा एन आर एन यूरोप क्षेत्रको भूमिकाको चर्चा गरे। उनले एन आर एन यूरोपको प्रभावकारिता अभिवृद्धिबारे आफ्नो धारणा राखेका थिए।
आइतबार साँझसम्म चल्ने यो सम्मेलनमा एन आर एनका वर्तमान परियोजना, नेपालमा लगानी, यूरोप क्षेत्रको भूमिका अभिवृद्धि, एन आर एनमा महिलाको भूमिका लगायतका बिभिन्न विषयमा बृहत छलफल हुनेछ। सेसनगत र राउण्ड टेबल छलफलका निष्कर्षलाई सम्मेलनले भावी नीतिको रूपमा फ्र्यांकफर्ट घोषणा पत्र जारी गर्ने छ।
आगामी अक्टुबरमा नेपाल हुने अन्तर्राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित यो यूरोप सम्मेलनलाई एनआरएन वृत्तमा निकै चासोको रूपमा समेत लिइएको पाईन्छ।
यसअघि शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एनआर एनका नेताहरूले पत्रकारले राखेका बिभिन्न जिज्ञाशाको जवाफ दिएका थिए।