बेलायती महारानी एलिजावेथ द्वितीयका श्रीमान फिलीपले यसै साताभित्र सार्वजनिक पदबाट अवकाश लिने भएका छन्।
बेलायतको राजदरबारबाट सोमबार यसबारे जानकारी गराइएको हो।
९६ बर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन्।
द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘ड्यूक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनेछन्। उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुन्।
दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवत राजकुमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उहाँले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।”
बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकुमार फिलीपले यसै वर्षको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा घोषणा गरेका थिए।
महारानी एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेकी र त्यसपश्चात महारानीसँगको नाताले उनले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका छन्। अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका फिलीपले हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन्। उनले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन्।
एकानब्बे बर्षीय महारानी र राजकुमार फिलीपले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएका छन् । उनीहरूको जिम्मेवारी जेठा छोरा राजकुमार चार्ल्स र नाति राजकुमार विलियमले हेर्दै आएका छन्। रासस/एएफपी