वैदिक सनातन धर्म दर्शनको प्रवर्धन गर्ने हेतुले लण्डनमा वैदिक सेन्टर यूकेको स्थापना भएको छ। नेपालस्थित गुरुकुल वैदिक फाउन्डेसनको संरक्षकत्व रहने गरी यहाँस्थित अध्यात्मिक अभियान्ताहरुको पहलमा यो संस्थाको स्थापना गर्दै बुधवार लण्डनमा समुद्घाटन गरिएको छ।
वैदिक सेन्टर यूकेको समुद्घाटन संगै पण्डित निलहरी घिमिरेको संयोजकत्वमा एक ५ सदसीय कार्यसमिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा संगीता मरहटठा , प्रविण गुरुङ, लिलादेवी गुरुङ र गणेश बाँस्तोला रहेका छन्। साथै सोही अवसरमा पशुपतिनाथ मन्दिर लन्डनका संस्थापक लगायतको २१ सदस्यीय सल्लाहकार समितिसमेत घोषणा गरिएको थियो ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले उक्त संस्थाको एक समारोहका बिच उद्घाटन गरे पश्चात सबै नेपाली समुदायले आफ्नो भाषा, संस्कृती र परम्पराको जगेर्ना गर्नु आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै गुरुकुल वैदिक फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष रुद्र प्रसाद भण्डारीले नेपाल बाहिर समेत वैदिक विकासको क्षेत्रमा क्रियाशील रहनु गौरवयोग्य काम भएको बताए ।
पशुपतिनाथ मन्दिरका महासचिव अर्जुन गौतमले संचालन गरेको उक्त कार्यक्रममा बोल्दै वैदिक सेन्टर युकेका संयोजक पण्डित निलहरी घिमिरेले परदेशको हुर्किदो नयाँ नेपाली पुस्तालाई सनातन वैदिक संस्कारको ज्ञान फैलाउनु संस्थाको प्रमुख उद्देश्य रहेको बताए ।
कार्यक्रममा पशुपतिनाथ मन्दिर लण्डनका संस्थापक अध्यक्ष होम शर्मा , अध्यक्ष बालजंग अर्याल, विश्व हिन्दु महासंघ आवद्द पण्डित चिरन्जीवी ढकाल, खगेन्द्र पाठक लगायतले वैदिक सेन्टरको स्थापना नेपाली संस्कारलाई परदेशमा जोगाउने कदम भन्दै अभियान सफलताको शुभकामाना दिएका थिए ।
संस्थाको कार्यालय दक्षिण पूर्वी लन्डनमा नेपाली हरु द्वारा स्थापित पशुपतिनाथ मन्दिरमा परिसरमा रहने बताईएको छ ।
नेपाल बाहिर बेलायतमा पहिलो पटक स्थापना गरिएको वैदिक सेन्टरले अन्य देशमा पनि शाखा विस्तार गर्ने लक्ष राकेको कुरा यसका संस्थापक संयोजक पण्डित निलहरी घिमिरेले बताएका छन्।