नेपाली लगानीकर्ताबाट सुरु भएको सोसल मिडिया कम्पनी सगुन डटकमले दोस्रो चरणमा लगानीको अवसर खुला गरेको छ।
संस्थापक गोविन्द गिरी नेतृत्वको टोली बेलायत आएर शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै लगानीको अवसर खुला गरिएको हो।
सुरूवाती कम्पनी भएर पनि सगुनले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत लगानी गर्न सकिने प्रबन्ध मिलाइएको बताएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक एवं सिईओ गिरीले लगानीको लागि आव्हान गरे । नयाँ कम्पनीका रुपमा जोखिम स्वाभाविक रहे पनि सफल हुने प्रशस्त अवसर रहेको दाबी उनले गरे ।
यो चरणमा लगानीकर्ताले न्युनतम १ हजार डलरसम्मको लगानी गर्न सक्ने बताइएको छ । सगुनलाई सन् २०२० सम्ममा ५ बिलियन डलरको कम्पनी बनाउने लक्ष्य राखिएको छ ।
त्यस अवसरमा सगुन डटकमका सह-संस्थापक कविन्द्र सिटौला , ग्लोबल कोअडिनेटर पर्शु तिमल्सिना, सल्लाहकार घनश्याम राजभण्डारी , पिआर संयोजक अजयबाबु शिवाकोटी, युरोप संयोजक सन्तोष घिमिरेलगायतले कम्पनीको भिजन, मिसन र लक्ष्यबारे प्रिजेन्टेसन गरेका थिए।
ब्लाइण्ड रक्सकी अभियन्ता सृष्टि केसी र दुबै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढा मगरले मन्तव्य राख्दै सगुनलाई शुभकामना दिए।
कार्यक्रममा समाजसेवी सूर्य गुरुङ, तमु धी यूके अध्यक्ष ज्ञाम गुरुङ , किशोर सापकोटा , श्री लिम्बु , विश्वासदिप तिगेला, दिपक श्रेष्ठ, अर्जुन कटुवाल , रमेश सराङ्कोटी लगायतका बेलायतस्थित कतिपय व्यवसायी , समाजसेवी र ईच्छुक लगानीकर्ता समेतको उपस्थिति थियो।