गत साताको अबिरल बर्षाको कारण नेपालको तराई भूभागमा आएको बाढीले ठूलो धनजनको क्षति प्रति गहिर दुख ब्यक्त गर्दै धादिङ-नुवाकोट समाज बेलायतले यस्तो मानवीय कार्यमा सर्लाहीको डुबान क्षेत्रमा संस्थाकै प्रतिनिधि पठाई आपत्कालिन रुपमा अत्यावश्यक राहत सामाग्रीहरु बितरण गर्ने भएको छ।
समाजका अध्यक्ष चोक बहादुर तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले संस्थाका उपाध्यक्ष ईन्जिनियर दीप तामाङलाई २३ अगष्ट २०१७ का दिन बाढी प्रभावित सर्लाही पुगी स्थानीय सामाजिक अभियन्ता तथा बाल सचेतना केन्द्रका अध्यक्ष सुरेन्द्र लामाको संयोजनमा अत्याबश्यक सामाग्रीहरु बितरण गर्न खटाएको हो।
संस्थाका महासचिव धन बहादुर पाख्रिनका अनुसार समाजका सदस्यहरुबाट ५ लाख भन्दा बढी रकम संकलन भै सकेको छ भने मंगलबार २२ अगष्टसम्म प्राप्त सम्पूर्ण रकम सिधै प्रभावीत क्षेत्रको लागि अत्यावश्यक सामाग्री खरिदको गर्न पठाईने छ।
संस्थाले सहयोगको लागि आव्हान गर्दै सबै ईच्छुक दाताहरुलाई समाजसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
यसैबीच गैर आवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके लगायत बिभिन्न संघ संस्थाले बेलायतमा बाढी पीडित सहयोग संकलनलाई तिब्र बनाएका छन्।