बेलायती राजकुमार ह्यारी उदारमना छन्।
यसको प्रमाण उनले पटक–पटक दिएका छन्, चाहे त्यो बेलायती टोलीलाई हौस्याउन मैदानमै ओर्लिएर होस् वा आफ्ना सैनिकको मनोबल बढाउन युद्धग्रस्त अफगानिस्तान जाने जोखिम मोलेर।
नेपालको सन्दर्भमा पनि राजकुमार ह्यारीले उदारमनाको बेग्लै छाप छाडेका छन्।
२०७२ वैशाख १२ गते जब ७.८ म्याग्निच्युडको भुइँचालोले यहाँका पहाडी गाउँहरूमा चिरा पार्यो, धेरै स्वदेशी तथा विदेशी स्वयंसेवक आहत मनमा मह्लम लगाउन अघि सरे। दुःखमा हात बढाए। र, आफूले सकेको माया र संवेदना पोखेर गए।
तिनैमध्ये एक थिए, ह्यारी।
आठ हजारभन्दा बढीको ज्यान लिएको उक्त भुइँचालो पुनर्निर्माण क्रममा राजकुमार ह्यारी गोरखा जिल्लाका विभिन्न गाउँ घुमेका थिए। उनले आफ्नै हातले माटो बोके, ढुंगा ओसारे र भत्केका घर पुनर्निर्माणमा आफ्नो संलग्नताको अंश छाडेर गए।
उनै राजकुमार ह्यारी आफ्नो उदारमनाको भिन्नै स्वरुपले चर्चामा छन्।
यो चर्चा उनको सामाजिक वा अन्तर्राष्ट्रिय प्रस्तुतिसँग सम्बन्धित छैन। यो त नितान्त पारिवारिक विषय हो, जसमा उनको उदार मन उजागर भएको छ।
राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्केल भर्खरै दक्षिण अफ्रिकाको बोट्सवानाबाट फर्के। उनीहरूको प्रेम सम्बन्ध गाँसिएको दुई वर्ष भयो। मार्केलको ३६ औं जन्मदिन मनाउन उनीहरू त्यहाँ गएका हुन्।
ह्यारी र मार्केलको बोट्सवाना भ्रमणलाई सबैलाई उत्साहका साथ हेरे पनि यहाँ चर्चाको विषय उनीहरूको प्रेम सम्बन्ध होइन। त्यो प्रेम सम्बन्ध र उनीहरूको विवाहसँग जोडिएको ‘शाही औंठी’ को हो, जुन ह्यारी आफ्नी भावी पत्नीको औंलामा लगाइदिन चाहन्थे।
यो विषय यसकारण पनि चर्चामा छ, ह्यारी र मार्केल छुट्टी मनाउन गएको बोट्सवाना त्यस्तो ठाउँ हो, जसलाई बेलायती शाही परिवारको ‘दोस्रो घर’ भनिन्छ।
राजुकमार विलियमले सात वर्षअघि यही ठाउँमा केटसँग विवाह प्रस्ताव गरेका थिए, आफ्नी आमा डायनाको औंठी लगाइदिएर। यो डायनाको त्यही ‘शाही औंठी’ हो, जुन ह्यारी आफ्नी भावी पत्नीलाई लगाइदिन चाहन्थे। उनको रहर पूरा भएको भए सम्भवतः यतिबेला बोट्सवानाको त्यही भूमिमा ह्यारीले मार्केलको औंलामा त्यो औंठी लगाइदिएका हुन्थे।
ह्यारीले इच्छा गरेको डायनाको शाही औंठी आखिर विलियमले केटलाई कसरी पहिर्याइदिए त?
यही प्रश्नमा ह्यारीको भावुक, मायालु र उदार मनको कथा लुकेको छ।
राजकुमारी डायना र चार्ल्सका छोरा ह्यारी र विलियमले कार दुर्घटनामा आफ्नी आमा गुमाएका थिए। उनीहरूले आमाको कुनै सामान चिनोस्वरुप आफूसँग राख्न खोजे। दुवैको रोजाइमा फरकफरक चिज पर्यो। विलियमले डायनाको घडी छाने, ह्यारीले त्यही शाही औंठी,जुन उनका बुवाले विवाहमा लगाइदिएका थिए।
चार्ल्सले डायनालाई लगाइदिएको त्यो औंठी एक किसिमले शाही परम्परासँग जोडिएको थियो-राजकुमारले राजकुमारीलाई लगाइदिने परम्परा। यो परम्परालाई विलियम पनि निरन्तरता दिन चाहन्थे।
यहीँनिर ह्यारीले आफ्ना उदार मन देखाए, आफूले मनबाट रोजेको औंठी त्याग गरेर। उनले दाजुसँग सम्झौता गरे– दुईमध्ये जसको विवाह पहिला हुन्छ, उसैले त्यो औंठी आफ्नी पत्नीलाई लगाइदिने।
आखिरमा विलियमको विवाह पहिले भयो। ह्यारीले आमाको चिनोस्वरुप राख्न खोजेको शाही औंठी विलियमले केटलाई पहिर्याइदिए।
दिवंगत आमाको जुन सम्झनालाई ह्यारी जीवनभर आफूसँग साँचेर राख्न चाहन्थे र सम्भवतः भावी पत्नीको हातमा त्यो सम्झना सुम्पन चाहन्थे, उनले त्यो सर्लक्कै दाजुको जिम्मामा सुम्पे। र, आफ्नी पत्नीको औंलामा देख्न चाहेको आमाको चिनो सदाको निम्ति भाउजूको हातमा अर्पण गरे।
ह्यारी र मेगन जन्मदिनको रमाइलोपछि बोट्सवानाबाट फर्केका छन्। ३२ वर्षीय ह्यारीले अमेरिकामा जन्मेकी ३६ वर्षीया मेगनलाई त्यहाँ विवाह प्रस्ताव गरे कि गरेनन्? सबैको चासो यही छ। सँगसँगै, डायनाको सम्झना मिसिएको त्यो शाही औंठी पनि चर्चामा छ, जुन ह्यारी आफ्नी भावी पत्नीलाई लगाइदिन चाहन्थे।
चर्चा अर्को पनि छ, ह्यारीले विवाह प्रस्ताव राखेकै भए वा कुनै दिन प्रस्ताव गर्दा कुन औंठी लगाइदेलान्?
आमा डायनाकै अर्को कुनै वा अरू नै केही?
त्यो औंठी आज पनि केटको औंलामा देखिन्छ, जसले ह्यारीको उदारमना स्वभाव झल्काइरहन्छ।