मर्यादाको सीमा स्तम्भ नाँघेर
तिमीसामू आएँ
अप्रत्याशित तिमी बदलियौ
जस्तो कि -
क्षणमै घाम लागेर
क्षणमै बादल लागेर
क्षणमै कुहिरो लागेर
र,
क्षणमै पानी परेर
बेलायती मौसम बदलिइरहन्छ
त्यस्तै तिमी पनि बदलिइरहन्छौ ,
बेलायती मौसमको भर नभए जस्तै
तिम्रो मुहारमा पनि
क्षण - क्षणमै बादल लागिरहन्छ
क्षण - क्षणमै कुहिरो लागिरहन्छ
र ,
क्षण - क्षणमै पानी परिरहन्छ
बेलायतीहरुले अनुमानकै भरमा
दिनचर्या बिताए झैं
अनुमानकै भरमा योजना बनाए झैं
मैले पनि अनुमानकै भरमा
तिमीसँगको दिनचर्यालाई डोर्याइरहेँ
एक दिन त घाम लाग्ला भन्ने आशामा
योजना बनाउदै गएँ
तर !
दुर्भाग्य भनौ या समय
न त तिम्रो मुहारमा घाम लाग्यो
न त मेरो अपेक्षित अनुमान पूरा भयो
आशै आशामा
अनुमानै अनुमानमा
जिन्दगीको रथ
जसोतसो धकेलिदै छ
गुनासो कोसँग गरौँ?
दुखेसो कोसँग पोखौं?
कहिले दुर्भाग्य ठान्छु
कहीले समयको खेल भन्छु
तर पनि आशा र अनुमानको डोरी त बाटेकै छु।
म मात्रै होइन,
कुलतमा फसेको छोरा सुध्रिने आशामा
धनपति साहुको जिन्दगीको रथ पनि त
आशा र अनुमानकै भरमा धकेलिदै होला ,
बगरे खोलामा गिट्टी कुट्दै गरेकि
माइली दिदिले पनि एक दिन
सुख पाउने आशा र अनुमानकै
भरमा जिन्दगीको रथ धकेल्दै होलिन्,
बिदेशीएको साइलो साइलीसँग
भेट हुने आशा र अनुमानकै भरमा
जिन्दगीको रथ धकेल्दै होला ,
पैसा कमाएर चुहिएको छानो टाल्ने
बिरबहादुरको जिन्दगीको रथ पनि त
आशा र अनुमानकै भरमा धकेलिएको होला ,
भोलि त छोरो फर्किएला कि भन्ने आशा र अनुमानमै
दिन बिताउँदै होलान्
तल्लाघरे काकाकाकी,
जुठे , काले र कालीहरु
आउँदै गरेको दशैमा मासुभात खाने
र नयाँ लुगा लगाउने आशा र अनुमानमै
ज्यूँदै होलान्
अनि ,
बेलायती आकाश हेरेर बेलायतीहरूले
घाम लाग्ने आशा गरे जस्तै
अनुमान गरे जस्तै
सबैको जिन्दगीको रथ पनि त
आशै आशामा
अनुमानै अनुमानमा
धकेलिँदै होला
मेरो जस्तै!