‘घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,
जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,
म भुईचालोले भत्काएको
घरको भग्नावशेष भित्र
ईनारमा रहेका कछुवा जस्तै
सयौं वर्ष जिईदिन्थें।’
कवि सुमन घिमिरेले 'भग्नावशेष भित्रबाट' कविताबाट माथिका हरफहरु सुरु गर्दा आयरल्याण्डमा रहेका कविता प्रेमीहरु मन्त्रमुग्ध भएका थिए। महाभुकम्पको सेरोफेरोमा लेखिएको उक्त कविता सुनाई रहँदा फेरि एक पटक त्यो दुखद क्षणको सम्झना गराएको थियो।
कवि सुमनले डब्लिनको फिनिक्स पार्कमा आयोजित कार्यक्रममा दसवटा कविता सुनाएका थिए। दसैंको मुखमा, मनमाया र प्रेम पत्र, नामसारी, बा-मेरो अनि छोरीको, तिमी मौनता र बर्रो,बाको चिन्ता, भत्केको घर र साँघुरा पसलहरु,मृत्यु समाचार र छोरी र भर्चुअल सन्सार कविता सुनाएका थिए।
बेलायत तथा आयरल्याण्डका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले सुमनका कविताहरुले बिदेसमा बस्ने नेपालीहरु र नेपालमा बस्ने नेपालीहरुलाई जोड्ने सेतुको काम गरेको बताए।
साहित्यकार एवं कवि व्यक्तित्व समेत रहेका सुबेदीले वहाँका कविताहरु सुन्दा नेपालको परिवेश र परिस्थिथीलाई बुझ्न पाइएको बताए। विदेसमा रहेर हामीले भाषा र साहित्यका यस्ता कार्यक्रम गर्नुका साथै आफ्ना सन्तानहरुलाई पनि नेपाली बोल्न र लेखाउन सिकाउनुको साथै आफ्नो संस्कृति र संस्कारहरु सिकाउन आव्व्हान गरे।
कार्यक्रमका सञ्चालक समेत रहेका डम्बर सिंहले कवि सुमनलाई कविता वाचनमा साथ दिदैं "नामसारी" कविता वाचन गरेका थिए।
कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका अध्यक्ष दिपेशमान शाक्य, गैर आवसिय नेपाली संघ आयरल्याण्डका अध्यक्ष नवराज कोइराला,गैर आवसिय नेपाली संघका आइसिसि सदस्य राजन काफ्ले लगायतको उपस्थिति थियो।
नेपाल आयरल्याण्ड समाज र गैर आवसिय नेपाली संघ आयरल्याण्डको संयुक्त्त आयोजनामा एकल कविता वाचन आयोजना गरिएको थियो।