पोर्चुगलको राजधानी लिस्बनमा पर्वत मल्लाजका ४४ वर्षिय हरि बहादुर जीसीलाई धादिङका अर्जुन सापकोटाले ढाडमा छुरी हानेर हत्या गरेका छन्।
भाइ ओम जीसीसँगै चिनियाँ नागरिकले चलाएको जापानिज सुशी रेष्टुरेन्टबाट काम गरेर मध्यरातमा निस्कँदै गर्दा ढुकेर बसेका अर्जुनले अन्धाधुन्ध छुरी हान्दा पछाडि ढाडबाट माछा काट्ने धारिलो छुरी पेटकै रोपिएको थियो। अत्याधिक रक्तश्राव भएपछि केहीबेरमै हरि बहादुरको निधन भयो।
छुरी हान्ने युवक अर्जुन उनीहरुसँगै काम गर्थे। तर, राम्रोसँग काम गर्न नसकेपछि साहूले दुई दिनअघि निकालिदिएको थियो। ओमले गर्दा आफू कामबाट निस्किन परेको आरोप लगाउँदै रेष्टुरेन्टमै गएर ओमलाई मार्छु भन्ने धम्की दिएका थिए। काम सकेर दाजुभाइ निस्कँदै गर्दा ओमको टाउकोमा पहिलो छुरी लागेको थियो। रगतपिच्छे भाइलाई बँचाउन खोज्दा उत्तेजित अर्जुनले अन्धाधुन्ध दाजुलाई छुरी हानेर हत्या गरिदिए।
रगताम्मे भएर दुवैजना ढलेपछि चक्कु लुकाएर अर्जुन पैदल भागेका थिए। प्रत्यक्षदर्शीहरुले तत्कालै पुलिस र एम्बुलेन्स बोलाए। अस्पतालमा गम्भीर घाइते ओम बाँचे भने हरिको रगत धेरै बगिसकेको हुनाले आधा घण्टापछि डाक्टरले मृत घोषित गरे।
प्रहरीले अर्जुनको खोजी गरिरहेको छ। स्पेन भागेको हुनसक्ने आशँका गर्दै स्पेनिश प्रहरीसँग पनि समन्वय गरेर खोजी भइरहेको भन्दै सबै युरोपियन युनियनका सुरक्षा संयन्त्रमा उनको हुलिया पठाइएको लिस्बन पुलिसले बताएको छ। घटनास्थलमा बिहान अबेरसम्म रगतका ठूलाठूला टाटाहरु थिए। मृतक जीसी श्रीमती र तीन वर्षकी छोरीसँगै लिस्बनमा बस्दै आएका थिए।
पहिलो घटना होइनलिस्बनमा भौतिक आक्रमण भएको यो पहिलो घटना भने होइन। सामूहिक कुटपिट र छुरीकाण्ड यसअघि पनि भएको थियो। पत्रकार गणेश पाण्डेमाथि गैर आवासीय नेपाली संघकै निर्वाचित सदस्यले नाबालक छोरासँग किनमेल गरेको बेला हातपात गरेका थिए। अर्का जिम्मेवार पदाधिकारी पनि छुरी काण्डमा सामेल थिए।
उद्दण्ड चरित्र र अपराध मनोबृत्ति भएकालाई पुलिसको हवाला गरिदिनुभन्दा मेलमिलाप गर्नेतिर सामाजिक संस्थाका पदाधिकारीहरु लागेकैले अपराध मनोवृत्ति हावि भएको केहीको दाबी छ। तर, विभिन्न संघसंस्थाका अगुवाहरु भने दश हजार भन्दा बेसीको चाप भएको ठाउँमा सबैलाई संस्थाले कारबाही गर्न गाह्रो हुने तर दोषिहरुलाई छोड्ने पक्षमा आफूहरु नरहेको बताउँछन्।
एनआरएनका पूर्व अध्यक्ष भीम कमल केसीले घाइते ओम जीसीलाई अस्पतालमा भेटेपछि घटनाको निन्दा गर्दै भावपूर्ण शब्दमा अपराधिक घटनाले आफू स्तब्ध भएको र हत्यारालाई कानून अनुसार कारवाही गर्न सबै पोर्चुगलवासी सबै नेपालीहरुलाई आग्रह गरे।
तर पत्रकार गणेश पाण्डेले भने आफू निकटका व्यक्तिहरुलाई सामाजिक संस्थाका नेतृत्वले चोख्याउँदै गएकाले अपराधिक गतिविधि गर्नेहरुको मनोबल बढेको बताए। उनले भने,‘दोषी र उद्दण्डलाई कारवाही भयो भने अरु हच्किन्छन्। तर त्यस्तो भैरहेको छैन पोर्चुगलमा।’
‘डन’हरु धमाधम पोर्चुगलमानेपालीमा दिनेश अधिकारी चरी, कुमार घैँटेहरु मारिएपछि यी समूह र राजधानीमा गुण्डागर्दी गर्दै आएका केही डनहरु प्रहरीबाट जोगिन, सुरक्षित हिसाबले बस्न पोर्चुगल आइपुगेका छन्। केही नेपालबाट खेतीकिसानीको निम्ति कामदार झिकाउने धन्दामा पनि संलग्न भएका छन्। उनीहरुलाई नजिकबाट चिनेकाहरु भन्छन्, ‘प्रहरी रिपोर्ट नभै पोर्चुगलमा बस्ने कागज पाइँदैन तर तिनै डनहरु ढुक्कसँग नेपाल आवतजावत गरेका छन्, प्रहरी रिपोर्ट छिटो तिनकै आइपुग्छ।’
नेपाल बसेर अपराधिक काम गरिरहेका सानाठूला डनहरुले आफ्नी श्रीमती, सालासालिलाई यतै बसालेर आफूहरु आवतजावत गरेको पनि पाइएको छ।
पोर्चुगिज प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर काम गर्न जरूरी भैसकको बताउँदै लिस्बन निवासी गणेश राई भन्छन्, ‘घरै पिच्छेका संस्था, जातै पिच्छेका संस्था, जिल्लै पिच्छेका संस्थामा बाँडिएका छन् यहाँका नेपालीहरु। लाखौँ खर्च गरेर आयो, समस्यामा भएपछि तनाब हुन्छ। अनि अपराध पनि हुन्छ। अपराधै गरेका दादाहरु नै छिरेर कम्पनी खोलेर चलाउन थालेपछि यत्रो बाक्लो समुदायमा के होला झन्।’ पोर्चुगलको प्रहरीले नेपाली प्रहरीसँग समन्वय गरेर काम गर्ने बेला हुन थालेजस्तो देखिन्छ स्थिति हेर्दा।
स्मरणीय रहोस्, अवैध रुपमा झ्याल ढोका नै नभएका टहरामा भेँडा बाख्रा झैँ मान्छे कोचेर खेतीको काममा लगाएको सुराकी पाएपछि पोर्चुगिज प्रहरीले गत वर्ष अपरेशन पोखरा भन्ने सर्च अभियान नै चलाएको थियो। गैरकानूनी रुपमा कामदार राखेको, उचित पारिश्रमिक नदिएको अपराधमा नेपालीहरुले खोरको चिसो हावा खाइरहेका पनि छन्।