शुक्रबार लण्डनको अन्डरग्राउण्ड रेलमा भएको एक बिष्फोटनमा परी १८ जना व्यक्ति घाइते भएका छन्। डिस्ट्रिक लाईनको पार्सन ग्रिन स्टेशनमा रेल भित्र भएको उक्त विष्फोटनमा घाईते भएका डेढ दर्जन व्यक्तिको अहिले अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार बिहान ८:२० बजे इम्प्रोभाईज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) वस्तुको प्रयोग गर्दै उक्त विष्फोटन गराईएको थियो।
घाइतेमध्ये अधिकांशलाई विस्फोटक पदार्थ पड्किएपछि उत्पन्न आगोको लप्काले पोलेको बताईएको छ।
घटनामा प्लास्टिकको झोला भित्र राखिएको बकेट पड्किएको थियो । घटनालाई प्रहरीले आतंकवादी संलग्नतासँग जोडेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म कुनै मानवीय क्षतीको विवरण भने प्राप्त भएको छैन।
यसैबीच लन्डन मेयर सादिक खानले शहरवासीलाई संयमित रहन अपिल गरेका छन्। बेलायती प्रधानमन्त्री टेरेसा मेले घटनामा घाइते हुने तथा आपतकालीन उद्दारकर्ताहरु प्रति सहानुभूती प्रकट गरेकी छन्।
घटना कसले घटायो भन्ने अहिलेसम्म यकिन भईसकेको छैन।