नेपालबाट बेलायत भ्रमणमा रहेका बरिष्ठ साहित्यकारसँग साहित्य चौतारी यूकेले एक कार्यक्रमका बिच रचना वाचन तथा साहित्यिक अन्तरकृया गरेको छ।
कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार अमर न्यौपाने, बरिष्ठ कवि गोविन्द राज विनोदी तथा गजलकार रवि प्रान्जल तथा साहित्यकार घनेन्द्र न्यौपानेलाई सम्मान गर्दै साहित्यका विभिन्न विधामाथि छलफल गरिएको थियो ।
चर्चित उपन्यास सेतो धर्ती र करोडौं कस्तुरीका लेखक अमर न्यौपानेले कथा लेखनमा आफ्नो अनुभव सुनाएका थिए। आफ्नो अनुभूतीको छोटो व्याख्यामा पनि आख्यान शैलीमै उत्रिएका उपन्यासकार न्यौपानेले आफ्नो अभिव्यक्तिमा उपस्थितहरुलाई लट्ठ पारेका थिए ।
त्यसैगरी बरिष्ठ कवि गोविन्द विनोदीले छंद कविता र गजलकार रवि प्रान्जलले आफ्ना प्रख्यात सृजनाहरु सुनाएर कार्यक्रमलाई साहित्यिक उचाई दिएका थिए । यसका साथै उनीहरुले आ आफ्ना विधाको शिल्प र कलाको प्रस्तुती बारे बताउदै सहभागी साहित्यकार हरुलाई लेखनशैलीको विकास गर्न सकिने तरिकाहरु बारे जानकारी दिएका थिए । कार्यक्रममा साहित्य चौतारीका नियमित सहभागी हरुले पनि रचना वाचन गरेका थिए ।
कार्यक्रममा लन्डन स्थित साहित्यकार वासु शर्माले हरेक महिना साहित्यिक जमघट आयोजना गर्ने साहित्य चौतारीको अवधारणा बारे प्रकाश पारेका थिए । त्यसैगरी समालोचक गोपी सापकोटाले बिभिन्न रचनाहरु माथि समालोचनात्मक टिप्पणी गरेका थिए । कार्यक्रमको संयोजन साहित्यकार दिनेश पौड्यालले गरेका हुन । कार्यक्रमको प्रारम्भमा साहित्यकार घनेन्द्र न्यौपानेले आफ्ना साहित्यिक अनुभुती हरु पस्किएका थिए । दक्षिण पूर्वी लन्डनको वुलविच लाइब्रेरीको सभाकक्षमा आईतवार आयोजित कार्यक्रममा स्थानीय साहित्यप्रेमी हरुको उल्लेख्य उपस्थिती थियो ।
यसअघी सोही दिन गैर आवासीय नेपाली संघ बेलायतले पनि एक कार्यक्रमका बिच साहित्यकार त्रय अमर न्यौपाने, गोविन्द विनोदी र रवि प्रान्जल लाई सम्मान गरेको थियो ।
लेखक न्यौपाने र कवि विनोदी अन्तर्रराष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतको निमन्त्रणामा बेलायत आएका हुन । न्यौपानेलाई गत हप्ता प्रतिष्ठानले ६० हजार रुपैया राशीको 'अनेवा नक्षत्र' पुरस्कार प्रदान गरेको थियो । उक्त कार्यक्रममा कवि विनोदीको 'कैकेयी' नामक महाकाव्य समेत विमोचन गरिएको थियो ।