सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत-वैशाखको यो वसन्त ऋतुमा चारैतिर प्राकृतिक सौन्दर्यता छाएको छ। तर विश्वभर फैलिएको कोरोनाका कारण मानव समुदायलाई त्रसित पारेको छ।
कोरोनाका कारण विश्वमा हजारौं मानिसको मृत्यु भएको छ भने कयौं मानिस पीडाले छटपटाइरहेका छन्। नेपालमा पनि यसको असर स्पष्ट देख्न सकिन्छ तर अन्य मुलुकको तुलनामा हाम्रो देशमा संक्रमित संख्या कम छ।
अहिलेको स्थिति हेर्दा नेपालमा रोग लागे पनि निको भई घर फर्कने क्रममा छन्। कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेको छैन।
म बुढानिलकनण्ठ स्कुल होस्टल बसेर पढ्छु। कोरोना भाइरसकै कारण हाम्राे विद्यालयले पूर्व निर्धारित समयभन्दा अगाडि नै परीक्षा सञ्चालन गर्यो।
फागुन ३० गते नै परीक्षा सकेर म घर फर्किएँ। बिदाको समयमा घरपरिवारसँग बस्न पाउँदा र प्राकृतिक वातावणमा रमाउन पाउँदा खुसी लागि रहेको छ। तर मानिसहरूमा भने कोरोनाको त्रास प्रष्ट देख्न सकिन्छ।
नेपालमा पनि यसले भयावह स्थिति ल्याउँछ कि भन्ने चिन्ता धेरैको छ। हामी लकडाउनमा छौं। मैले यसको पालना राम्रोसँग गरेको छु। बारम्बार साबुनपानीले हात धुने र कुनै वस्तु छोएमा स्यानिटाइजर लाउने गरेको छु। घरमै बस्ने गरेको छु। घरमा बनेका खानेकुरा मात्र खाने गरेको छु।
मानव जीवनमा यस्ता संकट बेलाबखत आइरहन्छ तर आत्तिनु हुँदैन। संकटका परिणाम बिस्तारै सकारात्मक बन्दै जान्छन्।
२०७२ सालको भूकम्पले नेपालीहरुमा ठूलो त्रास छायो। केही समयपछि त्यो पनि सामान्य बन्दै गयो। गाउँ गाउँमा भूकम्प प्रतिरोधी घरहरू निर्माण भएका छन्। भूकम्प आइहालेमा के कस्ता सावधानी अपनाउने भन्ने सन्देश हामीलाई दिइएको छ।
यसैगरी कोरोना भाइरसको पनि विस्तारै अन्त्य हुनेछ। हामीले यसबाट धेरै पाठ सिक्न सकिन्छ। विश्वभर छरिएका नेपाली एक जुट भई आफूले सिकेका ज्ञान, सीप र क्षमतालाई सही रूपमा सदुपयोग गर्ने अवसर प्राप्त भएको छ।
कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा विकास गरी नेपाललाई नयाँ युगमा प्रवेश गराउन यो संकट झन् एउटा महत्त्वपूर्ण अवसर हुन सक्छ भन्ने अपेक्षा गर्छु।
(नवोदित खनाल, बुढानिलकण्ठ स्कुलमा कक्षा ७ मा पढ्छन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)