सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसले संसारका अधिकांश देश अहिले लकडाउनमा छन्। नेपाल पनि चैत ११ गतेदेखि लकडाउन छ। यस्तो दुःखद अवस्थामा म हेटौंडा घरदेखि टाढा काठमाडौंमा छु। कोरोनाले दिनै मानिसको मृत्युको खबर रेडियोले भनिरहँदा मलाई साह्रै डर लाग्छ। बुवा, आमा, दिदी, बहिनीहरू र भाइहरूलाई सम्झेर रुन मन लाग्छ।
आगामी वैशाखदेखि काठमाडौंमा आन्टीसँग बसेर पढ्ने भनेर म काठमाडौं आएकी थिएँ। परिवारसँग विछोडिएको केही समयमै कोरोनाको महामारी फैलिन थाल्याे। अहिले परिवारसँग दिनहुँ फोनमा कुरा गर्छु तर भेट्न नपाउँदाको पीडा बेग्लै छ।
कहिले यो लकडाउन खुल्छ होला अनि म परिवारलाई भेट्न पाउँछु भनेर दिनहुँ सोचिरहन्छु। यस भाइरसले मेरो परिवारलाई केही नहोस् भनी भगवानसँग प्राथना गरिरहन्छु। हे भगवान! कोरोनाको महामारीबाट हामीलाई चाँडै मुक्ति दिनुहोस्।
लकडाउनमा परिवारबाट टाढा भए पनि आन्टी-अंकलले धेरै माया गर्नु भएकाले परिवारबाट विछोडिएको पीडा भुलाउने कोशिस गर्दैछु। आन्टीले मीठा-मीठा खानेकुरा बनाएर खुवाउनुहुन्छ। अनि म पनि कसरी बनाउने होला भन्दै उहाँसँग सिक्ने प्रयास गर्छु। अहिले म फ्रेन्च फ्राई, पुरी, रोटी, फ्राइड राइस बनाउन सक्ने भएकी छु।
अब घर गएको बेला बुबाआमालाई पकाएर खुवाउँछु।
मैले अहिले झमककुमारी घिमिरे दिदीले लेख्नुभएको 'जीवन काँडा कि फूल' भर्खरै पढेँ। धेरै राम्रो लाग्यो। उहाँको हात चल्दैन, बोली आउँदैन तर पनि खुट्टाले लेखेर ख्याती कमाउनु भएको छ। मलाई यसले धेरै प्रोत्साहन दिएको छ।
दिनहुँ समाचार पनि पढ्ने र सुन्ने गर्छु। कोरोना भाइरसबाट बच्न धेरै कुरा सिकिरहेको छु। घरभित्रै बस्नुपर्ने, साबुनपानीले हात मिचीमिची धुनुपर्ने अनि रूघाखोकी लागेर ज्वरो आएमा तुरून्त अस्पताल जानुपर्ने विषय फोनबाट घरका सबै सदस्यलाई सिकाउँछु।
कहिलेकाहीँ म कथा, कविता पनि लेख्छु। राम्रो लेखे भने पत्रिकामा छाप्न पठाउनु पर्छ भनेर आन्टीले प्रोत्साहन गर्नु हुन्छ। त्यसैले प्रयास गरिरहेको छु। अहिले नयाँ-नयाँ खेल खेल्ने र फिल्म पनि हेरिरहेकी छु। नयाँ ठाउँ भएकाले मैले धेरै कुरा सिक्नुछ। मलाई आन्टीको छोरीहरूले मद्धत गरिदिन्छन्। बहिनीहरूसँग बसेर चित्र बनाउँदा, लुडोँ खेल्दा, क्यारमवोर्ड खेल्दा मैले आफ्नो भाइबहिनीलाई सम्झिन्छु। अनि फेरि लकडाउन छ भनेर आफैंलाई सम्झाउँछु।
अब म कक्षा ९ मा जाने भएकाले कक्षा ९ का किताबहरू पनि पढिरहेकी छु। यसले मलाई नयाँ स्कुलमा सहयोग पुग्न सक्छ। हजुरहरू पनि आफ्नो पढाइलाई निरन्तरता दिनुहोस् है।
म र आन्टी मिलेर घरको छतमा केही तरकारीहरू पनि रोपेका छौं। अब केही दिनमा सिमी, बाेडी, फर्सी, घिरौला, टमाटर लगायतका तरकारीहरू फल्न थाल्छ। अर्गानिक तरकारी कौशीमै फलाउन सकिने रहेछ। हजुरहरू पनि कोशिस गर्नुहोस् ल। यसबाट पैसा पनि बचत हुन्छ। विषादी हालेको तरकारी पनि खानु पर्दैन।
अन्त्यमा, कोरोना भाइरस साह्रै डरलाग्दो रहेछ। यसले हाम्रो श्वासप्रश्वासमा समस्या ल्याएर मानिसको मृत्युसम्म हुने भएकाले हामी सचेत हुन जरूरी छ। विश्वका सम्पन्न मुलुकलाई समेत यसले आक्रान्त पारेको छ। धनी, गरिब, सानो, ठूलो कसैलाई पनि नछोड्ने हुँदा सर्तक हुनु हामीले भुल्नु हुँदैन। सरकारले लागू गरेको लकडाउन पालना गर्दै घरमा नै सुरक्षित बसेर नयाँ कुरा सिक्दै रमाइलो गर्नुहोस्।
(अमृता घले कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com