सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार! मेरो नाम सुसेन पौडेल हो। म इनसाइट भिजन एकेडेमी, सुन्दरबजार, लमजुङमा कक्षा दुईमा पढ्छु। अब तीन कक्षामा जाने। तर, दुई कक्षाको परीक्षा नै सकिएको छैन्।
लकडाउनका कारण विज्ञान, नेपाली माला, नेपाली व्याकरण, 'जि-के' र 'मोरल'को जाँच दिन बाँकी नै छ। परीक्षा सक्किएपछि बिदा हुन्छ अनि घरमा बसेर रमाइलोसँग टिभी हेर्ने सोचेको थिएँ। कोरोना भाइरसका कारण सबै परीक्षा दिन पाइनँ। दिदीको परीक्षा सकिएको भोलिपल्टदेखि लकडाउन भयो।
लकडाउन भनेको सबै पसलहरू बन्द हुने, गाडीहरू बन्द हुने र घरभित्रै बस्नुपर्ने रहेछ। यसअघि शनिबार बिदा हुँदा त बाहिर घुम्न जान पाइन्थ्यो। तर लकडाउनमा बाहिर जान, खेल्न र घुम्न पाइँदो रहेनछ।
मलाई घुम्न, साथीहरूसँग खेल्न खुब मनपर्छ। घर बाहिर जान नपाउँदा घरको छतमा बसेर बाहिर हेर्ने गर्छु। कोहीकोही साथी बाहिर सडकमा खेलेका देखिन्छन्। मलाई पनि जाउँ–जाउँ लाग्छ। तर, ममीबाबाले जान हुँदैन भन्नुहुन्छ।
हाम्रो घरभन्दा अलिकति तल अंकलको घर छ। कहिलेकाहीँ भित्री बाटो हुँदै अंकलको घर जान्छु। उहाँ हाम्रो स्कुलको प्रिन्सिपल हुनुहुन्छ। आन्टी पनि त्यहीँ पढाउनुहुन्छ। प्रिन्स दाइसँग खेल्न जान मन लाग्छ। कहिलेकाहीँ दाइ हाम्रो घरमा आउनुहुन्छ। पढाइ भएको समयमा अंकलको घर जाँदा डर लाग्थ्यो। अहिले पढाइ नभएकाले त्यति डर लाग्दैन।
बिदाको समयमा मैले मज्जासँग टिभी हेरेँ। ममीबाबा मलाई परीक्षा दिन बाँकी रहेका किताब पढ्न भन्नुहुन्छ। तर, मलाई बिदाको समयमा पनि के पढ्ने जस्तो लाग्छ। कहिलेकाहीँ दिदीसँग टिकटक हेर्छु। कहिले टिभी त कहिले चित्र बनाउँछु।
यो समयमा मैले सुनको रूख, भ्यागुताको बिहे, पवन र गगन, फट्यांग्रो घुम्न जाँदा जस्ता किताब बाबाको ल्यापटपबाट पढेँ। बाबासँग मादल बजाउन पनि सिक्दैछु।
‘अब तिमी तीन कक्षामा जानै पाएनौं’ भनेर ममीबाबाले मलाई जिस्क्याउनु हुन्छ। लकडाउन खुलेपछि जाँच दिएर पास भइहालिन्छ नि भन्छु।
पढ्ने समयमा त मलाई छिटै निन्द्रा लाग्थ्यो। अहिले त राती अबेरसम्म पनि निद्रै लाग्दैन। पढाइ नभएकाले बिहान अबेरसम्म सुत्न पाइन्छ। बिहान उठेपछि बाबाले मलाई ल्यापटपमा किताबहरू पढ्न लगाउनुहुन्छ। म कहिलेकहिले बाल कथाका किताब पढ्छु। एकै ठाउँ बसेर पढिरहन मन लाग्दैन।
लकडाउन छिटो खोल्दिए पनि हुन्थ्यो जस्तो लाग्छ। तर कोरोना भाइरस सर्छ भनेर नखोलेको रे। कोरोना खतरनाक भाइरस हो। आँखाले देख्न नसकिने सानो हुन्छ। त्यसैले घर बाहिर गएर आएपछि राम्रोसँग साबुनपानीले हात, मुख, गोडा सबै धुनुपर्छ। यसो गर्दा हाम्रो शरीरमा टाँसिएका भाइरस पखालिन्छन् र मर्छन्। कोरोना भाइरस नभए पनि हात धुनु राम्रो बानी हो।
कोभिड-१९ भनेको 'कोरोना भाइरस डिजिज २०१९' रहेछ। मैले त्यो पनि जानेँ। भाइरस लागेर धेरै मानिस बिरामी हुने र केही मर्ने कुरा टिभीबाट थाहा पाएँ। त्यसैले मलाई कोरोनादेखि डर लाग्छ। सबै साथीहरूलाई लकडाउनमा भित्रै बस्न भन्न चाहन्छु।
बाहिर निस्कँदा भाइरस सर्न सक्छ। त्यसैले बाहिर जानु हुँदैन। मैले यो समयमा धेरै चित्र बनाएको छु। केही चित्रहरू लेखसँगै पठाएको छु। साथीहरू पनि यसैगरी घरमै बस्नुहोला।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com