सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
सबैलाई नमस्कार!
मेरो नाम मिसन काफ्ले हो। हिम रश्मि स्कुल, मनमैजुबाट कक्षा ६ को वार्षिक परीक्षा दिएर बसिरहेको छु। मामाले मलाई सेतोपाटीमा विभिन्न लेख पढ्न लगाउनुभयो। मजस्तै भर्खर ६ कक्षाको परीक्षा दिएर बसेका साथीहरूले लेखेको देखेर मलाई पनि केही लेख्न प्रेरणा मिल्यो।
मलाई कथा लेख्न अत्यन्त मनपर्छ। त्यसैले एउटा कथा लेख्ने निर्णय गरेँ। कपी-कलम ठीक्क पारेँ। तर केका बारेमा लेख्ने भन्ने कुराले दोधारमा परेँ। सबैले मेरो लेख पढ्नुहुन्छ भनेर होला मलाई लेख्ने आँटै आएन। त्यो दिन मैले केही लेखिनँ।
तर भोलिपल्ट मनले मान्दै मानेन। अनि जे भए पनि लेख्छु भनेर कथा लेख्न थालेँ।
...
एकादेशमा एउटा अनमोल नाम गरेको केटा थियो। उसलाई नयाँ ठाउँ घुम्न अत्यन्त मनपर्थ्यो। धेरैजसो एकलै घुम्ने अनमोललाई यो पटक आफ्नो परिवारसँग घुम्न जान मन लाग्यो। ऊ र उसको परिवारले अमेरिका घुम्न जाने निर्णय गरे।
प्राकृतिक वातावरणमा बस्न रूचाउने भएकाले अनमोलले जंगलको बीचमा रहेको अत्यन्त सुन्दर होटल बुक गरेको थियो। होटलको ठीक पछाडि एउटा पुरानो दरबारजस्तो घर थियो। उसलाई त्यो घर अत्यन्त मनपर्यो।
उसले जहिलै त्यो घरमा गएको सपना देख्न थाल्यो। त्यसपछि उसलाई त्यहाँ जान झन मन लाग्यो। एकदिन उसले त्यहाँ जाने निर्णय नै गर्यो। त्यो घरमा रेखदेख गर्न बसेको एक मान्छेलाई उसले घर बाहिर भेट्यो र घरको बारेमा धेरै प्रश्न सोध्यो।
सोधपुछपछि ऊ होटल फर्कियो। अर्को दिन पनि ऊ त्यो घरबाहिर पुग्यो तर उसले हिजो भेटेको चौकिदारलाई भेटेन। उसले नजिकै रहेको मान्छेलाई चौकिदारका बारेमा सोध्यो। त्यो मान्छेले चौकिदर त २५ वर्ष अगाडि नै मरेको र त्यसपछि यो घरमा कोही पनि नभएको कुरा बतायाे।
यो कुरा सुनेर अनमोल छाँगाबाट खसेजस्तै भयो। उनीहरू भोलिपल्टै त्यो ठाँउ छोडेर गए..।
नडराउनुहोस् है, मैले 'हरर' फिल्महरूका जस्तै सानो कथा लेख्ने प्रयास गरेको हुँ। जस्तो भए पनि प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ। घरमा बसेर कथा लेखिरहँदा सिक्ने मौका पाएको छु। तपाईंहरू के गर्दै हुनुहुन्छ नि?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com