सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चीनको वुहानमा पहिलोपल्ट भेटिएको कोरोना भाइरस अरू देशमा पनि फैलन थालेपछि एसइईबाहेकका विद्यालयस्तरका सबै परीक्षा तोकिएको समयभन्दा अगाडि सकियो। चैत ५ गते विद्यालयको वार्षिक परीक्षा सकिएपछि हामी हाम्रो गाउँको घर सूर्यगढी-४, नुवाकोट जाने तरखर गर्दै थियौं। गाउँबाट हजुरबा-हजुरआमाले पनि धेरै फोन गरिरहनुभएको थियो, 'तिमीहरू गाउँ आऊ है' भनेर।
मेरो भाइ निर्जल र म अलि धेरै उत्सुक पनि थियौं। मलाई पहाड, खोलानाला र हरियाली साह्रै मन पर्छ। फुर्सदको समयमा कविता, गीत र यात्रा अनुभव लेख्न साह्रै मन पर्छ। गाउँको घरमा हारमोनियम छ। भाइलाई हारमोनियम बजाउन र गीत गाउन मन पर्छ। गाउँ गएर के-के गर्ने भनेर हामीले त कार्यतालिका पनि बनाएका थियौं। केही कारणले गर्दा हामी छिट्टै गाउँ जान सकेनौं।
हाम्रो गाउँ बेलडाँडासम्म ठूलो बस नियमित चल्दैन तर साना गाडीहरू जान्छ। फेदिवेसीबाट लगभग १ घन्टा हिँडेर जानुपर्ने भएकाले चैत १२ गते हामी गाडी रिजर्भ गरेर गाउँसम्मै जाने भनेर तयारीमा थियौं। तर सरकारले ११ गते बिहानबाटै लकडाउन हुने र कोही कतै हिँडडुल गर्न नपाउने भनेपछि हामी घर जान पाएनौं।
सुरूका केही दिन त रमाइलै भयो। टिभी हेर्यो, मोबाइलमा गेम खेल्यो। कोठामा मादल र गितार छ। हामी गीत गाउने, नाच्ने गरेर पनि समय बिताइरहेका छौं। तर सधैं एउटै कुरा गर्दा अल्छी लाग्ने रहेछ। बिस्तारै यी कुराहरूमा मन जान छोड्यो। त्यसपछि भाइले र मैले एउटा उपाय निकाल्यौं। बाबाको लाइब्रेरीमा भएका केही किताब निकालेर पढ्ने र पढेका कुरा सम्झेर कपीमा लेख्ने।
मलाई साहित्यका किताबहरू मन पर्ने, भाइलाई इतिहास र संस्कृतिको। हामीले विभिन्न किताब पढेर हरेक दिन दुई पेज 'हेन्डराइटिङ' को अभ्यास पनि गर्यौं। पढेका कुरा लेख्दा दुइटा फाइदा हुँदो रहेछ। पहिलो आफूले पढेको कुरा बुझ्न सजिलो हुने, दोस्रो लेख्न अभ्यास पनि हुने।
लकडाउन लम्बिँदै गएपछि हामीले तालिका बनाएर लेख्ने, पढ्ने, खेल्ने गरिरहेका छौं। हामी बिहान केही समय टिभीमा समाचारहरू हेर्छौं। त्यसपछि पढ्ने-लेख्ने गर्छौं। खाना खाएपछि छतमा गएर केही समय बिताउँछौं। कुनै दिन छतमा फूलेका फूलहरूको फोटो खिच्छौं त कहिले छतमा आउने परेवाहरूको फोटो खिच्छौं। दिउँसोको खाजा खाएपछि फेरि लेख्ने र पढ्ने काम हुन्छ।
लकडाउनमा मैले धेरै किताब पढेँ। मञ्जु ज्ञवालीको बालकथा 'इम्जाको झस्को', कृष्णप्रसाद पराजुलीको 'नेपाली उखान र गाउँखाने कथा', शिवबहादुर भण्डारीको 'ऐतिहासिक केही गढीहरू', सरिता तिवारीको कवितासङ्ग्रह 'अस्तित्वको घोषणापत्र', नयनराज पाण्डेको उपन्यास 'सल्लिपिर', डा. नवराज लम्सालको 'धरा महाकाव्य', सत्यमोहन जोशीको 'नेपाली चाडपर्व', सुरेश प्राञ्जलीको उपन्यास 'तुइन' गीता त्रिपाठीको कवितासङ्ग्रह 'सिमलको गीत' पढेर सकेँ।
अहिले म मेरै हजुरबा नन्दराम लम्सालले लेख्नुभएको उपन्यास 'आरम्भ' पढिरहेकी छु। आफैंले पनि केही कविता लेखिरहेकी छु।
मैले आफूले पढ्ने केही अंग्रेजी र केही नेपाली किताबहरू छानेर राखेकी छु। क्रमशः पढ्दै जाने छु। मोबाइलमा गेम खेलेर र टिभी हेरेर मात्रै समय बिताउनुभन्दा लकडाउनलाई हामीले सिर्जनात्मक बनाउन सक्छाैं। कोर्सभन्दा बाहिरका किताब पढेर धेरै कुरा सिक्न सकिन्छ। मैले यही महशुस गरेँ।
घरमा साहित्यका धेरै किताब भएर पनि मैले कहिल्यै यति धेरै किताब पढेकी थिइनँ। विद्यालयमा हुने रामायण वाचन र कविता वाचनमा भाग लिनका लागि कहिलेकाहीँ मात्रै पढेकी थिएँ। मजस्तै साथीहरूलाई मेरो अनुरोध छ तपाईंहरू पनि घरमै बसेर पढ्ने, लेख्ने गर्नुहोस्। घर बाहिर गए रोग लाग्न सक्छ। आफ्ना अभिभावकहरूलाई पनि घर बाहिर जान नदिनुहोस् र जानै परे सुरक्षित तरिकाले जान भनेर सम्झाउनुहोस्।
...
म कक्षा आठको वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा छु।
(निर्जला लम्साल सोह्रखुट्टे, काठमाडाैंमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com