सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विद्यालयकाे परीक्षामा सामेल भई सफल नतिजा पाएसँगै एक कक्षा माथि पुग्दा विद्यार्थीलाई खुसी अवश्य हुन्छ। त्यही खुसी प्राप्त गर्न आधारभूत तहको परीक्षाको लागि धमाधम 'रिभिजन' कक्षा भइरहेको थियो। मनमा भने आधारभूत तहको परीक्षाको लागि अन्य विद्यालय जानुपर्ने हाे कि, कस्तो हुने हो? प्रश्नपत्रहरू कस्ता आउने हुन्? लगायत कुराले खुलदुली हुन्थ्यो।
हुन त महाविद्यालयमा सबै कुरामा कडाइ हुने भएकाले पढाइ लगायत अन्य कुरामा कुनै विद्यार्थी पछि हट्दैनन्। म पनि किन पछि हट्थेँ? जस्तो अवस्थामा पनि हाजिर हुन तयार थिएँ। विद्यालय आउजाउ गर्दै गर्दा अन्तिम परीक्षाको तयारी गर्नुपर्ने भएकाले अरू केही सोचाइ आउँदैन थियो।
घर आउँदा सुनिन्थ्याे- विश्वभरि कोरोना भाइरसले धेरै मानिसको मृत्यु भइसकेको छ, अनि धेरै संक्रमित पनि छन्। फेरि बुद्धिजिवीहरूले विद्यालय बन्द गर्नुपर्छ भनेर पनि दबाब दिएका छन्।
सडकमा व्यक्तिहरूले मास्क पनि बाँड्दै हिँडेका छन् रे। विद्यालय कति बेला बन्द हुने हो निश्चित छैन भनेर घरमा अभिभावकको आवाज आउँथ्यो। २०७६ फागुन २५ काे रिभिजन कक्षा भइरहँदा पो कक्षा ८ का कोर्डिनेटर सपना वली म्यामले 'तिमीहरूको परीक्षा चैत ५ गते सकिसक्नुपर्छ अनि आफ्नो विद्यालयमै परीक्षा हुन्छ' भन्नुभयाे।
शिक्षा मन्त्रालयले ५ गतेसम्ममा परीक्षा सकिसक्नुपर्छ भनेर भनेकाे रहेछ। भोलिपल्ट त २८ गतेदेखि हुने परीक्षा तालिका आयो। जस्तो तयारी थियो, त्यस्तै परीक्षा दियौं। त्यति बेलासम्म सबैको मुखमा मास्क सुरू भइसकेको थियो। कक्षा १ देखि ९ सम्मका विद्यार्थी र अभिभावकले चैत ५ गते परीक्षा सकिँदा आनन्दको सास फेर्न पाए।
कति चिनचानका साथीको विद्यालयमा त परीक्षा नै सकिएको रहेनछ। सरकारले तोकेको समयमा परीक्षा सकेनछन्, त्यो दुखद पक्ष हो। ती विद्यालय, अभिभावक र विद्यार्थीहरूकै तनाबको विषय हो। सरकारले तोकेको समयमा परीक्षा नसक्नु विद्यालयको कमजोरी हो।
जब चैत ७ गते एसइई सञ्चालनका लागि प्रश्नपत्र ठाउँ ठाउँमा पुगिसकेको, सेन्टरमा सिट नम्बरसमेत टाँसिसकेको बताइयाे। टाढाटाढाका विद्यार्थी ऋण काढेर, पैसा खोजेर सेन्टरमा लुगाफाटा किताब बोकी आए। ६ गते बेलुकी सरकारले परीक्षा स्थगित भनिदियो। कोरोनाको त्रासमा त्यो निर्णय सही थियो। ढिला गरिएको निर्णयले परीक्षामा सामेल हुन सेन्टरमा आएका विद्यार्थी भने निराश बने।
चैत ५ गते परीक्षा सकेपछि ७ गते कक्षाको साथी नुनिकाको जन्मदिन थियाे। साथीहरू जम्मा भएर रमाइलो गर्ने योजना पनि कोरोना त्रासले एकाएक सेलायो। सरकारले ११ गतेदेखि त लकडाउन नै घोषणा गर्यो। आजसम्म आइपुग्दा चौथो चरणसम्म लकडाउन थपिसक्यो। अझै के हुने हो थाहा छैन।
हाम्रो विद्यालयमा सबै कक्षाको नतिजा आयो। मेरो भने आधारभूत तहको परीक्षा भएकाले कहिले नतिजा पाउने हो थाहा छैन। लकडाउन कहिलेसम्म हुने हो थाहा छैन। विद्यालयबाट आउने बित्तिकै फ्रिजमा खानेकुरा हेर्ने बानी, अहिले त फ्रिज रित्तो भइसक्यो। भान्सामा ल्याएका खानेकुरा रित्तिसके। आज नि दाल भात, भोलि पनि दाल भात कहिले जाउलो।
लकडाउनले जस्तोमा पनि रमाउनुपर्ने कुरा राम्ररी सिकायो। हजुरबुबाको किताब र्याकमा राखेका किताब खोजेर पढ्न सिकायो। समाचार हेर्न सिकायो, परिवारसँग रमाउन सिकायो। नेपाल भनेको हाम्रो घर हो र नेपाली भनेको हाम्रो परिवार रहेछ भन्ने कुरा राम्ररी बुझायो। धेरै मानिसहरू लकडाउनले खान पाएका छैनन्। भोकै बस्नु परेको छ। काठमाडौंबाट हिँडेर कोही विराटनगर, कोही रौतहट। कोही कता पुगेको समाचार आइरहेको छ।
ज्याला मजदुरी गर्ने, गरिबहरूले राहत पाएका छैनन्। सरकारले बाँडिरहेको छ। कसैले दोहोर्याएर लगेको त कसैले एकचोटी पनि पाएका छैनन्। पहिचान गरी राहत बाडिँयोस्। घर जान नपाउनेलाई जान पाउने व्यवस्था गरियोस् सरकार। हामीले पनि सरकारले तोकेको लकडाउन पालना गरेर कोरोनालाई पराजित गर्न सफल होऊँ।
मैदानमा उत्रने सुरक्षाकर्मी, डाक्टर नर्सलाई निरास होइन, सबैले हौसला प्रदान गरौं।
हामीले जित हासिल गर्यौं भने शैक्षिक क्षेत्रमा पक्कै अगाडि बढ्न सक्छैं।
के थाहा, न पछि हामी नै पो भविष्यमा कोरोनाको इन्जेक्सन पत्ता लगाउने व्यक्ति बन्न सक्छौं कि? हाम्रो शैक्षिक यात्रालाई सबैले साथ र सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु। कोरोनाबाट आतंकित होइन सचेत बनौंं।
(श्रेया नेपाल सैनिक आवासीय महाविद्यालय सल्लाधारी, भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)