सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
संसारको सबैभन्दा अग्लो शिखर, बुद्धको जन्मस्थल र वीर गोर्खालीको देशमा जन्मँदा मलाई गर्व लाग्छ। तर देशका जनताहरूको घट्दो राष्ट्रियता, देशमा बढिरहेको हिंसा र अशान्ति देख्दा रिस पनि उठछ। कुनै बेला वीर गोर्खाली हुने देशमा अहिले घुस खाने नेता मात्र छन्।
'कुनै बेला देशभक्तहरू हुने देशमा अहिले किन यति गरिब देशमा जन्म लिएँ?' भन्ने जनताहरू मात्र छन्। सबै जनता योग्य सरकारको बारेमा कुरा गर्छन्। तर के म आदर्श नागरिक हुँ? भन्ने कुरामा कसैले चासो गर्दैनन्।
ती मानिस जसले जतासुकै फोहोर फाल्छन, तिनिहरू नै नेपाललाई विदेशका चिल्ला सडक र सफा वातावरणसँग तुलना गर्छन्। अबदेखि सरकारको विरोध गर्नुभन्दा अगाडि के मैले आदर्श नागरिकको कर्तव्य निर्वाह गरेको छु भनेर आफैंलाई प्रश्न पनि गर्नुस् न।
हामी भन्छौं त पृथ्वीनारायण शाह, भिमसेन थापा र शुक्रराज शास्त्री जस्ता नायकहरूको फेरि जन्म भए हुन्थ्यो। त्यस्ता नायकहरूको जन्म हुन फेरि राष्ट्रियताको पनि जन्म हुनुपर्यो नि। यहाँ नेपालमा आमाबुवाले बच्चाहरूलाई भ्रष्टचारी नेताहरूको बारेमा भन्छन्। तर तिमी असल नायक बनेर देश परिवर्तन गर्न सक्छाैं भन्दैनन्। हिंसा र अशान्तिका बारेमा भन्छन् तर कसरी हिंसा रोकेर शान्ति ल्याउने भन्दैनन्।
अहिले कोरोना भाइरसले गर्दा मानिसहरूले कहिल्यै कल्पना नगरेको परिस्थिति सामना गर्नुपरेको छ। २ सयभन्दा धेरै देशमा फैलिसकेको कोरोना भाइरसले विश्वलाई आतंकित बनाएको छ। सधैं भीडले भरिने सडक अहिले सुनसान भएका छन्। तर के यस्तो चुनौतीपूर्ण समयमा हामी एकजुट हुनु पर्दैन?
केही दिनअघि आमाले मलाई तरकारी किन्न घर नजिकैको पसलमा पठाउनु भयो। पसल पुगेपछि मैले अचम्मको दृष्य देखेँ। तरकारी किन्नका लागि मात्र मान्छेहरूको भीड थियो। तरकारी सकिन लगेर पनि होइन, ती मान्छेहरूलाई छिटो घर जानु थियो। त्यहाँ लगभग १५ जना थिए। तर त्यहाँ एक जनाले पनि सामाजिक दुरीको पालना गरेका थिएनन्।
हामी दिनभरी फेसबुक, रेडियो, टेलिभिजनमा कोरोना भाइरसबारेमा सुनिरहन्छौं तर व्यवहारमा सामाजिक दुरीको समेत पालना गरेका छैनौं। शारीरिक रुपमा हामी मानिसजस्तो देखिँदैमा सभ्य हुँदैनौं, व्यवहार पनि सभ्य हुनुपर्छ। त्यो घटना देखेपछि मैले रिसाएर खुट्टा पोलमा ठोक्काएँ। ठोक्किएर सुन्निएको खुट्टाभन्दा देशमा यस्ता नागरिक छन् भन्ने कुराले मलाई बढी दुःख दिएको थियो।
सरकारले लक डाउन घोषणा गरेको २३ दिनभन्दा बढी भइसक्यो। तै पनि धेरैजसो टोलमा मान्छेहरूको भीड देखिन्छ। यस्तो लापर्बाहीले कोरोना भाइरस फैलियो भने को जिम्मेवार हुन्छ? जनता की सरकार?
सरकारले 'के गर्यो, के गरेन?' भनेर विरोध गर्नुभन्दा यो चुनौतीपूर्ण समयमा एकजुट हुनुहोस्। नेपाली हुँ भनेर लाज होइन गर्वसँग दिनमा एकपटक राष्ट्रियगान गाउनुहोस्। घरबाट बहिर निस्कनुभन्दा पहिला आफूलाई प्रश्न गर्नुहोस्, 'के म अति आवश्यक कारणले बाहिर निस्कँदैछु?' घरको रासन किन्न जाँदा अनावश्यक रूपमा धेरै सामान किने अरूलाई नपुग्ला भन्ने बारेमा सोच्नुहोस्।
नेपाललाई कहिले स्विजरल्यान्ड त कहिले सिंगापुर बनाउँछु भन्ने नेताहरूले देश सुधार्नेभन्दा बिगारे। हामीचाहिँ नागरिकदेखि आदर्श नागरिक भयौं भने देश परिवर्तन होला। आफ्नो हातलाई मुटुमा राख्नुहोस्, आँखा बन्द गर्नुहोस् र कल्पना गर्नुहोस् सुन्दर, शान्त र नयाँ नेपाल।
कल्पना गर्नुहोस् यस्तो नेपाल जहाँ टेलिभिजनको रिमोट दबाउँदा हिंसा र हत्या होइन सुख र शान्तिको समाचार सुन्नुहुन्छ। यस्तो नेपाल जहाँ पैसाको लागि होइन देशको लागि जिउने नेता हुन्छन्। सरकारको विरोध होइन साथ दिने जनता हुन्छन्। आफ्नो आँखा खोल्नुहोस् र आदर्श नागरिक हुने प्रण लिनुहोस्।
भोट हाल्ने दिनलाई तपाईंहरूले बिदाको दिन हो भनेर घरमा नै मोबाइल चलाएर वा फिल्म हेरेर बस्नुभन्दा गर्वका साथ भोट हाल्न जानुहोस्। के हुन्छ र २/४ घण्टा कुर्दा योग्य सरकार कुरेको वर्षौं भइसक्यो। देशमा गरिबी हटाउँछौ भनेर गफ लगाउने नेताहरूलाई होइन विश्वाश गर्न लायक नेताहरूलाई भोट् दिनुहोस्।
फोहोरलाई बाटोमा मिल्काउने होइन व्यवस्थित गर्नुहोस्। अबदेखि किन यस्तो देशमा जन्मिएँ होइन, म यो देश परिवर्तन गर्न यहाँ जन्मिएको हुँ भन्नुहोस्। यस्तै साना कदमहरूले आज नभए पनि एक न एक दिन तपाईंले कल्पना गरेको नेपाल राम्रो नेपाल हुनेछ।
(आशुतोष ढुङ्गाना गण्डकी आवासिय विद्यालय, पोखरामा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)