सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रमिशा सेजुवाल हो। म सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ मा रहेको चिल्ड्रेन प्याराडाइज माध्यमिक विद्यालयमा अध्ययनरत छु।
चीनमा कोरोना भाइरस फैलिएको कुरा फागुनतिरै पत्रपत्रिका, टिभी र रेडियोमा सुन्दै आएकी थिएँ। भाइरस यता पनि आउने हल्ला चलेपछि हाम्रो विद्यालयले हतार–हतार गरेर चैत २ गतेदेखि अन्तिम परीक्षा सुरु गर्ने भयो। म ९ कक्षाकी विद्यार्थी। १० वटा विषयको परीक्षा दिनुपर्ने थियो। ७ वटा परीक्षा सकिएपछि भने बाँकी परीक्षा नहुने भन्दै विद्यालय बन्द गरियो।
परीक्षा कहिले हुने हो भन्ने मनमा सोचिरहेकी थिएँ। विद्यालयकी क्याप्टेनसमेत भएकाले अरू साथीहरूले पनि मसँग सोध्ने गर्थे। एक्कासि लकडाउन घोषणा भयो।
सुरुमा यो शब्द सुन्नासाथ म निकै आत्तिएँ। मलाई चिन्ता लाग्न थाल्यो– अब बाँकी परीक्षा कहिले हुन्छ ? पढाइ के हुने हो ? घरभित्रै दिन कसरी काट्ने ? म साथीहरुसँग भेटघाट र घुमघाममा निकै रमाउने मान्छे।
सुरुको एक हप्ता त मोबाइल चलाएर र टिभी हेरेरै बित्यो। मैले मेरो महत्वपूर्ण समय सामाजिक सञ्जालमा खेर गइरहेको महशुस गरेँ। त्यसपछि बिहान–साँझ किताब पढ्ने, लेख लेख्ने, ममी–बाबासँग गफ गरेर समय बिताउन थालेँ।
ममी र बाबाको सहयोगमा कोरोनासम्बन्धी एउटा भिडिओ बनाएँ, जुन भिडिओ बाबाले आफ्नो फेसबुकबाट अपलोड गर्नुभयो। धेरैको राम्रो कमेन्ट आउँदा निकै खुसी लाग्यो।
तैपनि कतिखेर घरबाहिर जाऊँजाऊँ लागिरहन्थ्यो। जाने आँट भने गरिनँ। म गएपछि भाइ पनि घरबाहिर निस्किने भएकोले घरभित्रै बसिरहेँ। यस्तैमा एक दिन विद्यालयका प्रवन्ध सञ्चालक गुरु यदुप्रसाद ज्ञावलीले चैत २४ गते फोन गरेर ‘भोलिदेखि अनलाइन कक्षा सुरु हुन्छ, बाबा–ममीको सहयोगमा एप्स डाउनलोड गर’ भन्नुभयो।
मलाई मनमा कौतुहलमात्र होइन, खुसी पनि लाग्यो। ९ कक्षाको रिजल्ट नआए पनि १० कक्षाका विषय पढ्न पाउने खबरले त खुसीको सीमा रहेन। यसले गर्दा १० कक्षामा गएपछि पढ्न सहज हुने भयो भन्ने लाग्यो।
बाबा–ममीको सहयोगमा ‘जुम क्लाउड मिटिङ’ एप्स डाउनलोड गरेँ। पढाइ पनि सुरू भयो। अहिले यो एप्समार्फत् विद्यालयका २४ जना साथीहरु पढिरहेका छौं। बिहान ८ बजेदेखि १० बजेसम्म कम्प्युटर, अंग्रेजी र विज्ञान पढाइ हुन्छ। दिउँसो ३ बजेदेखि ५ बजेसम्म सामाजिक, नेपाली र गणित पढाइ हुन्छ।
सधैं कक्षाकोठामा पढिरहेकी मेरो लागि यो नौलो अनुभव हो। गुरुहरुले पढाउनुहुन्छ। हामीले नबुझेको कुरा सोध्न मिल्छ। महेन्द्रनगरको स्टार स्कुल र हाम्रो स्कुलको संयुक्त कक्षा हुने भएकोले नयाँ सर र साथीहरूसँग परिचय भएको छ। यो कक्षामा जोडिन खासै गाह्रो पनि छैन। मोबाइल वा ल्यापटप र इन्टरनेट भए पुग्छ। गुरुहरुले भनेको कुरा टिप्नका लागि कापी कलम पनि आवश्यक पर्छ।
कोरोना भाइरस र लकडाउनले सारा विश्वलाई सताएको छ। नेपालीले त झन् बढी दुःख पाएका खबर सुन्ने, पढ्ने गर्छौं। यसले मन दुख्छ। व्यक्तिगत रुपमा भने लकडाउनले मलाई नयाँ अनुभव र अवसर दिएको छ। अनलाइन कक्षाले विद्यालय बन्द छ भन्ने पनि बिर्साएको छ। लकडाउनको बेला प्रविधिले दिएको यो उपहार मजस्तै विद्यार्थीलाई प्रदान गर्न अन्य विद्यालयलाई पनि आग्रह गर्छु।
(प्रमिशा सेजुवाल सुर्खेतको चिल्ड्रेन प्याराडाइज माध्यमिक विद्यालयमा अध्ययनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)