सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आरोही पौडेल हो। मेरो घर कौशलटारमा छ। हाल १० वर्षकी भएँ।
म सेन्ट जेभिएर स्कुल जावलाखेलमा कक्षा ५ को परीक्षा पास गरी अब कक्षा ६ मा अध्ययन गर्नेछु। महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणले हाम्रो देश लकडाउन भएको छ। त्यसैले मेरो स्कुल पनि बन्द छ। म घरमै बसेर पढिरहेकी छु।
मलाई पाँच वर्ष उमेरदेखिका क्षणहरू याद छ। त्याे बेलादेखि अहिलेसम्म कहिले यस्तो छुट्टी भएको थिएन। अहिले लकडाउनले गर्दा फुर्सद धेरै पाएकी छु।
म घरमै बसेकी छु। बिहान सात बजे उठ्छु। घरको छतमा गएर १ घन्टा जति व्यायाम गर्छु।
घर नजिकैका साथीहरूसँग छतबाटै कुरा गर्छु। त्यसपछि दैनिक २ घन्टा अध्ययन गरी खाना खान्छु। एकछिन नाचगान गरी टिभीमा केही आफूलाई मनपर्ने कार्यक्रम हेर्छु।
तर मैले हजुरआमा, हजुरबुबा भेट्न पाएकी छैन। ठूलोबाबा, ठूलोआमा, दाइ, दिदीहरू भेट्न नपाएकाले उहाँहरूको हालखबर फोन गरी सोध्छु।
कोरोना भाइरस रोगबारेमा आफूले जानेको केही कुरा भन्न चाहन्छु। यो रोग लागेमा मानिसलाई रूघा, सुख्खा खोकी, उच्च ज्वरो, थकाई लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा पर्न सक्छन्। दुई हप्तामा रोगका लक्षणहरू देखिन सक्नेछन्। यसबाट बच्न बेलाबेला साबुनपानीले २० सेकेन्डसम्म हात धुने वा समयसमयमा स्यानिटाइजरको प्रयोग गर्ने।
रूघा खोकी लागेका मानिसबाट टाढा रहने, हात नमिलाउने, त्यसकाे साटो नमस्कार गर्ने। सकेसम्म घर बाहिर ननिस्कने यदि निस्कनै परेमा मास्क र पन्जाको प्रयोग गरेर मात्र बाहिर निस्कने। मान्छेको भीडभाडबाट टाढा बस्ने र जनावरलाई पनि सकेसम्म नछुने। तागतिलो र झोलिलो खानेकुरा खाने। लकडाउनको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्छु।
अहिले मेरो घरका सबैजना घरै बस्नु भएको छ। बाबाको काम भएर उहाँ अफिस जानुहुन्छ। घरबाट बाहिर जाँदा म मेरो बाबालाई मास्क लगाएर हिँड्नु भन्छु। बेला बेलामा साबुनपानीले हात धुन मेरो दिदी र म मिलेर बाबालाई भन्छाैं। फोन गरेर छिटो घरमा आउनुहोस् र हात धुनुहोस् भन्छौं।
यस रोगबाट बच्नका लागि हामी सबैले पोसिलो र तागत दिने खानेकुरा खाऊँ।
अनि अर्को कुरा तपाईहरू विदेशबाट आउनुभएको हाे भने कम्तीमा १४ दिन आइसोलेसनमा बसी कोरोना भाइरसको परीक्षण गरेर अरूलाई यो रोग लाग्नबाट बचाऔं। यो संकटको अवस्थामा एक अर्कालाई दुःख परको छ भने आफूले गर्न सक्ने सहयोग गरौं। लकडाउनको समयलाई सबैले पूर्ण रूपमा पालना गरी सहयोग गरौं।
धन्यवाद।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)