सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते! मेरो नाम सदीक्षा पाण्डे हो। म ९ वर्षकी भएँ। मेरो गाउँ नुवाकोट हो। गाउँमा आमा र बुवा बस्नुहुन्छ।
भाइ, म, ममी र बाबा सामाखुशीमा बस्छौं। अहिले सामाखुशीस्थित लर्निङजोन एकेडेमीबाट तीन कक्षाको वार्षिक परीक्षा दिएर बसेकी छु। हाम्रो देशमा कोरोना भाइरस आएकोले मेरो रिजल्ट आएको छैन। अब मेरो भाइ नर्सरीबाट एल.के.जी.मा जान्छ।
हाम्रो डेरी पसल छ। ममीबाबा डेरी पसलको काम गर्नुहुन्छ। ममीले भाइलाई र मलाई परीक्षा सकेपछि गाउँ र माइली फुपूको घर लैजान्छु भन्नुभएको थियो। लकडाउन भएपछि जान पाएनौं। गाउँमा गएर भाइबहिनीसँग खेल्ने भनेर रमाएका थियौं।
मेरो मामाघर यही गोंगबुमा भएकाले हामीलाई बाबाले मामाघर ल्याइदिनुभयो। मामाघरमा आमा, दुईजना सानीमा र एउटा सानो भाइ छ। म सानो भाइलाई खेलाएर बस्छु।
स्कुल बन्द भएकाले म बिहान ढिलासम्म सुत्छु। उठेर खाजा खाएर टेबलमा पढ्न बस्छु। एकछिन पढेर खाना खान्छु। सानीमाहरूको काम भएकाले म आमासँग लुडो खेल्छु। आमासँग लुडो खेल्दा मलाई रमाइलो लाग्छ। म आमालाई सधैं जित्छु। सानीमाहरूसँग खेल्दा चाहीँ मलाई हराइदिनुहुन्छ।
कहिले गीत बजाएर नाच्छु। सानीमाले मलाई डिजाइन-डिजाइनले कपाल बाटिदिनुहुन्छ। कहिलेकाहीँ छिटो उठेका बेला आमासँग सानो भाइको लागि दूध लिन जान्छुु। लकडाउन भएदेखि दूध ल्याइदिने बाले ल्याइदिनुभएको छैन। त्यसैले आमा आफैं जानुहुन्छ। आमासँग दूध लिन म मास्क लगाएर जान्छु। आएपछि साबुनपानीले हात धोएर मात्र कोठाभित्र पस्छु।
आमाले मलाई सधैं मैले भनेकै खाजा बनाइदिनुहुन्छ। अरू बेला स्कुलको खाजा खान पर्थ्यो। अहिले कहिले अण्डारोटी, कहीले चाउचाउ, कहिले मःम खाने गरेकी छु। मेरो मन पर्ने खाजा अण्डा रोटी हो। मलाई थाहा भएदेखि अहिलेसम्म यतिका धेरै समय स्कुल छुट्टी भएको थिएन। अहिले घरमा बसेर मनपरेको खाजा खाने, नाच्ने, खेल्ने, कहिले फिल्म हेरेर बस्न पाउँदा रमाइलो लागेको छ। स्कुलमा साथीहरूसँग खेलेको याद आएको छ। घरका साथीहरूसँग खेल्न नपाएको पनि धेरै भयो।
लकडाउनले म गाउँघर पनि जान पाएको छैन। साथीहरूलाई भेट्न पनि पाएको छैन। कहिले कोरोना हाम्रो देशबाट जाला र लकडाउन खुल्ला अनि मेरा साथीहरूसँग भेटेर खेल्ने होला?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)