सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्ते। मेरो नाम अनमोल घिमिरे हो। घर लमही नगरपालिका वडा नं. ६ देउपुरमा पर्छ। म ७ वर्षको भएँ। गोरखा मोडल सेकेन्डरी स्कुल लमही यु.के.जी.मा पढ्छु। परीक्षा दिएर बसेको छु। अब कक्षा १ को पढाइको पर्खाइमा छु।
लकडाउन हुनुअघि ममीबाबा सधैं काममा जानुहुन्थ्यो। मलाई स्कुल पुर्याउनु हुन्थ्यो। म घर फर्किँदा उहाँहरू काममै हुनुहुन्थ्यो। स्कुलबाट म भ्यानमा घर आउँथेँ। घरमा आमा मात्रै हुनुहुन्थ्यो। साँझ पर्न आँटेपछि मात्रै ममीबाबा आउनुहुन्थ्यो।
तर, अहिले न ममी काममा जानुभएको छ, न बाबा। ममीबाबा, आमा, म घरमै छौं। हरेक दिन मलाई रमाइलो लाग्छ। ममीबाबा, आमासँग खेल्छु। म पहिला यसरी उहाँहरूसँग धेरै दिन घरमा बसेकै थिइनँ। जहिले हतार हुन्थ्यो। तर, अहिले हतार छैन।
लकडाउन मैले रमाइलोगरी बिताइरहेको छु। म बिहान ६ बजे उठ्छु। बाबासँग योग गर्छु। ममीले खाजा बनाइसक्नुभएको हुन्छ। खाजा खान्छु। भानिजदाइहरू आउनुभएको छ। मेरो घर उहाँहरूको मामा घर हो। म त मामाघर जान पाइनँ। मेरो मामा घर गढवामा हो। लकडाउन हुनुअघि बाबाले लगेर जानुभएको थियो। पछि हामी फर्किहाल्यौं।
हाम्रो घरमा बाख्रा छन्। बाख्रालाई घाँस, पानी दिन बाबा, आमा जानुहुन्छ। म पनि सँगसँगै जान्छु। बुढी बाख्रा बिरामी छ। बाबाले औषधी गर्नुहुन्छ। तर निको भएको छैन। त्यो बुढी बाख्राले धेरै बच्चा जन्माइसकेकी छ।
कोरोना भाइरसले गर्दा अहिले हामी पहिले जस्तो बजार जान पाएका छैनौं। यो समय त स्कुल जाने समय पनि हो। तर, रिजल्ट आइसकेको छैन। स्कुल र साथीहरूको याद आइरहेको छ। माया लागेको छ। कहिले स्कुल जान पाइन्छ भनेर सोचिरहन्छु। घरमा रहँदा ममीबाबाकाे मोबाइलमा गेम खेल्न खोज्छु। खेल्न हुँदैन भन्नुहुन्छ।
घरभित्र लुडो, चेस खेल्छु। यो लकडाउनमा मैले मकैको रोटी खाजाको रूपमा खान पाए। घरमा कहिले खिर पाक्छ, कहिले पुरी। ममी र आमाले नयाँ नयाँ खाने कुरा खान दिनुहुन्छ। मलाई पनि रोटी बेल्न सिकाउनुभएको छ। घरको आँगनमा फूलबारी छ। त्यहाँ पानी हाल्छु। फूलहरूसँग रमाउँछु। यति मात्र होइन, आमाले मलाई पातबाट टपरी बनाउन सिकाउनु भएको छ। ममीले चामलबाट धान (बियाँं) निकाल्न सिकाउनुभयो।
अनि नि एउटा कुरा! मेरो हजुरबुवा सानै हुँदा बित्नुभएको रे। हजुरबुवाको सम्झनाको लागि उहाँको फोटो मात्रै छ। वैशाख ४ गते हजुरबुवाको श्राद्ध थियाे। बाबाले दारी, कपाल फाल्नुभयाे। मैले पनि कपाल फालेको छु। कपाल फाल्छु भनेर आमालाई सोध्दा हुन्छ भन्नुभयो। अनि फालेँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)